नेपालीपनका कृतिले पनि नोबेल पुरस्कार जित्न सक्छन् : घिमिरे


Share This


नेपालबहस संवाददाता    247 Views

१७ कात्तिक, काठमाडौं । साहित्यकार एसपी कोइरालाको कवितासंग्रह ‘गौँथलीहरुको गीत’को अनुदित कृति ‘सङ्स अफ स्वालोज’ (गौंथलीहरुको गीत) सार्वजनिक गरिएको छ ।

सिर्जनात्मक महिला समूहले आज आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तक लोकार्पण गरेकी हुन् । राष्ट्रपति भण्डारीले कलाकार अरुणा हिङ्माङको नौदिने एकल चित्रकला प्रदर्शनीको पनि शुभारम्भ गरिन् । कलाकार हिङमाङले साहित्यकार कोइरालाको कवितासंग्रहमा संग्रहित कविताको शीर्षकगत चित्र बनाएकी छिन् । चित्र पुस्तकमा पनि समावेश गरिएको छ । यिनै चित्र प्रदर्शनीमा राखिएको हो । कलाकार हिङमाङको यो चौथो एकल चित्रकला प्रदर्शनी हो ।
कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले विदेशीको नक्कल गरेर नभई नेपाली मौलिकपनका कृतिको रचना सिर्जना गरेर नेपाली साहित्यलाई विश्व जगत्मा फैलाउन सकिने धारणा राखे । “नेपालीले साहित्यमा नोबेल पुरस्कार जित्न विदेशीले जस्तो साहित्य रचना गर्नुपर्दैन, हाम्रै कला संस्कृतिका आधारमा पनि नोबेल पुरस्कार जित्न सकिन्छ”, उनले भने ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा लैजान नेपालीमा लेखिएका कृतिलाई अंग्रेजीमा अनुवाद गरिनुपर्ने बताए । “अनुवादमार्फत नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा लगे नोबेलजस्ता ठूला पुरस्कार पनि जित्न सकिन्छ, त्यसका लागि कृतिको भावना नमर्नेगरी अनुवाद हुनुपर्छ”, उनले भने ।

कृतिकार कोइरालाले मन दुःखेका बेला आउने भावनालाई ‘गौँथलीका गीत’ मा समावेश गरिएको जानकारी दिए । यो उनको चौथो कृति हो । प्रशासनिक सेवामा २५ वर्ष काम गरेका पूर्वसचिव शंकरप्रसाद कोइरालाले दोस्रो संविधानसभा निर्वाचन सम्पन्न गराउन पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठित मन्त्रिपरिषद्का अर्थ, उद्योग र आपूर्तिमन्त्रीको जिम्मेवारीसमेत पूरा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार