म्याद नाघेको पाउडर दूध मिसाएर बिक्रीगर्ने निजी डेरीमा मन्त्री खनालले लगाए ताला


Share This


नेपालबहस संवाददाता    33 Views

डीडीसीलाई जोगाउन खोजेको भित्री तथ्य फेला

काठमाडौं । केही डेरी उद्योगले तलर दूधमा म्याद नाघेको पाउडर दूध मिसाएर उपभोक्तालाई बिक्री गरेको पाइएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सोमबार बालाजुस्थित डेरी उद्योगमा अनुगमन गर्ने क्रममा यस्तो तथ्य फेला परेको हो।

बालाजु औद्योगिक क्षेत्रभित्रका सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) सहित आधुनिक डेरी प्रोडक्ट लिमिटेड, सामुहिक कृषक लिमिटेडको सुलभ दूध उद्योग र औद्योगिक क्षेत्रबाहिर रहेको पुष्प डेरीमा मन्त्री खनालको नेतृत्वमा राज्यमन्त्री रामकुमारी चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसहितको टोलीले अनुगमन गरेको थियो। त्यस क्रममा आधुनिक डेरीका तीन र पुष्प डेरीका एक गरी चारवटा गोदाममा सिल गरिएको छ।

आधुनिक डेरी प्रोडक्ट र सुलभ डेरीले राखेको पाउडर दूध न्यूनतम मापदण्डभित्र नरहेको पाइएपछि सिल गरिएको हो। यद्यपि, मन्त्रीसहितको अनुगमन टोलीले डीडीसीलाई भने जोगाउन खोजेको फेला परेको छ। अनुगमनका क्रममा निजी डेरीमा कैफियत भेटिनु तर सरकारी स्वामित्वको डीडीसीमा कुनै कैफियत नभेटिनुलाई सरकारले जोगाउन खोजेको प्रस्ट हुन्छ। मन्त्रीसहितको अनुगमन टोली आउँदैछ भनेर डीडीसीले आइतबार नै जानकारी पाइसकेकाले अनुगमनको क्रममा त्यहाँ कुनै कैफियत भेटिएन। डीडीसी स्रोतले भन्यो, ‘हाम्रोमा पनि मन्त्रीसहितको अनुगमन टोली आउँदैछ भनेर पूर्वजानकारी आएको थियो। त्यही भएर हामीले सरसफाइ गरेर मन्त्रीको टोलीलाई स्वागत गर्न तयारी अवस्थामा बसेका थियौं।’

पूर्वजानकारीका आधारमा डीडीसीमा गरिएको अनुगमनका कारण डीडीसीलाई सरकारले चोख्याउने वातावरण बनाइदिएको उपभोक्तावादीले औँल्याएका छन्। उपभोक्तावादी ज्योति बानियाँले पूर्वजानकारी दिएर अनुगमन गर्नुको कुनै अर्थ नहुने बताए। ‘बर्सेनि डीडीसीको दूधबिरुद्ध मुद्दा पर्दै आएको छ’, बानियाँले भने,‘पूर्वजानकारी गराएर त्यस्ता संस्थालाई चोख्याउन मन्त्रालय आफै अग्रसर भएको छ। अनुगमनका क्रममा सबै डेरीमा कैफियत भेटिनु तर डीडीसीमै केही कैफियत नभेटिनु आफैमा शंकास्पद विषय हो।’

मन्त्री खनालले डीडीसीको प्रयोगशालाले आफ्नो दूधलाई गुणस्तरीय भएको दाबीसहित प्रतिवेदन उपलब्ध गराए पनि उक्त प्रतिवेदनलाई आफूले नमान्ने जानकारी दिए। उनले भने, ‘डीडीसीसहित अन्य डेरीबाट उत्पादित दूधको नमुना लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा परीक्षणका लागि पठाएका छौं। जे प्रतिवेदन आउँछ, त्यसैको आधारमा कारबाही हुन्छ।’ अनुगमन टोलीले बिहान ४ बजेदेखि बजारमा पुगेका विभिन्न ३० डेरी उद्योगका दूधको नमुना संकलन गरी परीक्षणका लागि खाद्य विभागमा पठाएको छ।

‘खाद्य सम्प्रभुता ऐन ल्याउने काम अन्तिम चरणमा रहेकाले जनताको स्वास्थसँग डीडीसीसहित निजी क्षेत्रका डेरी उद्योगले खेलवाड गर्न पाउँदैनन्। अनुगमनको क्रममा सरसफाइ नगरेको, राज्यले तोकेको मापदण्ड पूरा नगरेको लेबल र उत्पादन मिति तथा उपभोग्य मितिसमेत उल्लेख गरेको पाइएन्’, मन्त्री खनालले भने,‘हाम्रो पहिलो प्राथमिकता सरकारी स्वामित्वको डीडीसी दूधको गुणस्तर सुधार गर्नु पनि हो । डीडीसीको दूधलाई पनि विशेष निगरानीमा राखेका छौं।’

मन्त्री खनालले अनुगमनको क्रममा दूध बनाउन प्रयोग गरिएको पाउडर दूध म्याद नाघेको अवस्थामा फेला परेको जानकारी दिए। डेरी उद्योगले असल उत्पादन प्रणाली कार्यान्वयनमा नल्याएको र दूधजस्तो संवेदनशील पदार्थमा उद्योगीले चरम लापरवाही गरेको मन्त्री खनालले जानकारी दिए।

खाद्य विभागको पछिल्लो नौ महिनाको प्रतिवेदनअनुसार डेरी, तेल, पानी उद्योगविरुद्ध एक सय १३ वटा मुद्दा दर्ता भएको छ। यसमध्ये २० वटा दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डीडीसीसहित निजी उद्योग छन्। विभागको प्रतिवेदनअनुसार उत्पादन भएर बजार जाने प्रशोधन गरी पाश्चाराइज्ड गरिएको दूध तथा दही न्यून गुणस्तरका साथै दूषित अवस्थामा फेला परेका छन्।

डीडीसीको बालाजु आयोजना र लैनचौर आयोजनामार्फत उत्पादन भएका दूधमा कोलिफर्मसमेत पाइएको थियो। लैनचौर आयोजनाबाट उत्पादन भएका दही दूषित र बालाजु आयोजनाबाट उत्पादन भएका प्रशोधित दूधमा कोलिफर्म भेटिएको थियो। डीडीसीबाहेक चन्द्रागिरि डेरी, सञ्जीवनी डेरी, सुजल डेरी, नारायणी मिल्क हेटौंडा, श्रीराम घिउ, सुजल डेरी पोखरा, दिब्य डेरी हेटौंडा, शक्ति फुड्स, मिल्कमाण्डु डेरी, संयुक्त डेरी एन्ड बेभरेजलगायत उद्योगबिरुद्ध खाद्य विभागले मुद्दा दायर गरेको छ।

खाद्य विभागका प्रवक्ता पूर्णचन्द वस्तीले प्राप्त भएको दूधको नमुना माइक्रोबायोलोजी परीक्षण गर्न कम्तीमा तीन दिन लाग्ने जानकारी दिए। उनले भने,‘तीन दिनपछि मात्रै कुन उद्योगको दूध कुन गुणस्तरको छ भनेर किटानीसाथ भन्न सक्छौं।’ अन्नपूर्ण पोस्ट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार