धार्मिक महिना साउन : हरियो चुरा, मेहन्दी र कपडाको व्यापारमा बृद्धि


Share This


नेपालबहस संवाददाता    192 Views

४ साउन, काठमाडौं । भगवान शिवको पूजा आराधना गरिने साउन महीना र त्यसमा पनि सोमवारको दिनमा देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लाग्न शुरु भएको छ । साउन महीना, हरियाली मौसम र त्यसमा पनि महिलाहरुले हरियो, रातो पहिरनका साथमा चुरा, मेहेन्दी लगाउँदा पूरै महीना रङ्गिन देखिन थालेको छ । साउनमा पनि बिशेष रुपमा मनाउने सोमवारको ब्रत र रङ्गिचङ्गी पहिरनसँगै बजारमा चुरा, मेहेन्दी र कपडाहरुको व्यापार बढेको पाइन्छ ।

साउन महीना शुरु भएसँगै स्थानीय बजारमा हरियो, पहेंलो, रातो रङ्गका चुरा र मेहन्दीको व्यापार बढेको व्यापारीहरु बताउँछन् । महिलाहरु हरियो, पंहेलो रङ्गको चुराका साथै मेहन्दी र हरियो रातो कपडा र श्रृङ्गारमा सजिएका देखिन्छन् । साउन महीना आएलगत्तै हरियो चुरा र महेन्दीलगायत अन्य श्रृङ्गारिक सामानको बिक्री राम्रो भइरहेको छ । अन्य समयमाभन्दा साउनमा यस्ता सामग्रीको कारोबारबाट मनग्य आम्दानी हुँदै आएको व्यापारीको भनाई छ ।

साउन धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले वर्षमा एक महीनाभरि आफूहरु हरियो चुरा र मेहेन्दी लगाउँदै आएको महलिाहरु बताउँछन् । महिलाले लगाउने हरियो रङ्ग प्रेम र वातावरणको प्रतीक मानिएकाले हरियो चुराको महत्व साउनमा बढिरहेको छ ।
हातमा मेहन्दी लगाउने अनि हरियो, पहँेलो, रातो, नीलो रङका चुरा लगाई पहेँलो पोतेसहित भक्तिपूर्वक पूजापाठमा सक्रिय रहने हिन्दू महिलाको लहर शहर बजार र मन्दिर वरपर प्रशस्तै भेटिन्छ । साउनको पहिलो दिनदेखि नै बजारमा रहेका श्रृङ्गारिक पसलमा चुरापोते अनि पहेँला वस्त्र खरीदकर्ताको भिडले व्यापार बढिरहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार