राजस्व संकलन २६ प्रतिशतले वृद्धि


Share This


नेपालबहस संवाददाता    235 Views

११ साउन, काठमाडौं । आर्थिक वर्ष २०७३/०७४ असार महिनासम्मको राजस्व संकलनको लक्ष्य रु. २ खर्व ३३ अर्व ६० करोड १५ लाख १७ हजार रहेकोमा रु. २ खर्व ५८ अर्व १७ करोड ४९ लाख ८५ हजार संकलन भई लक्ष्यको तुलनामा १११ प्रतिशतको प्रगति भएको छ

यो वृद्धिदर गत वर्षको तुलनामा २६ प्रतिशतले बढी हो । शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ रु. १ खर्व ४८ अर्व २३ करोड ६० लाख ८६ हजार, मूल्य अभिवृद्धि कर रु. ६१ अर्व १२ करोड ३ लाख ८५ हजार र अन्तःशुल्क तर्फ रु. ४७ अर्व २१ करोड ५४ लाख २३ हजार संकलन भएको छ ।

सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ११६ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०३ प्रतिशत र अन्तशुल्क तर्फ १०५ प्रतिशत हो । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु. ७३ करोड ९७ लाख २५ हजार र रु. ८६ करोड ३३ लाख ६६ हजार संकलन भएको छ ।

शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९८ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८९ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर २७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २० प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३१ प्रतिशत रहेको छ ।

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७३/७४ को बार्षिक लक्ष्यभन्दा ११ प्रतिशतले बढी राजस्व संकलन गर्न सफल भएको छ ।

साउन १० गते आन्तरिक राजस्व विभागमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक श्री किशोरजंग कार्कीले काठमाडौं उपत्यकाभित्रका ठूला करदाता कार्यालय, सवै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै वितेको आर्थिक वर्षमा चुनौतिपूर्ण लक्ष्य पूरा भएकोमा विभागको महानिर्देशकको तर्फबाट वधाई दिए ।

कर प्रशासनले परिश्रमका साथ काम गरेकै कारण लक्ष्य पूरा गर्न सफल भएको बताउँदै चालु आर्थिक वर्षको लागि तोकिएको लक्ष्य पनि चुनौतिपूर्ण रहेकोले मेहनत गर्न निर्देशन दिए । आन्तरिक राजस्व विभागलाई चालु आर्थिक वर्षका लागि करिव ३ सय अर्व राजस्व संकलन गर्नुपर्ने लक्ष्य तोकिएकोले सो चुनौति पूरा गर्नका लागि आजैबाट सक्रिय भएर लागि पर्न महानिर्देशक श्री कार्कीको निर्देशन थियो ।

महानिर्देशक कार्कीले कार्य योजना बनाएर बजार अनुगमन गर्न निर्देशन दिँदै राजस्व प्रशासनमा काम गर्ने प्रत्येक कर्मचारीको क्रियाकलाप सदाचारियुक्त हुनुपर्ने बताए ।

कार्यक्रममा उपमहानिर्देशकहरु चन्द्रकला पौडेल, राजेन्द्रकुमार पौडेल, धनिराम शर्मा र सूचना प्रविधि विज्ञ प्रेमशरण श्रेष्ठले आआफ्नो शाखासँग सम्बन्धित निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार