अर्थमन्त्रीमा नयाँ अनुहार , इमानदार र नैतिकवान नेतालाई अर्थमन्त्रालयको बागडोर


Share This


नेपालबहस संवाददाता    207 Views

२७ जेठ, काठमाडौं । २०४६ को राजनीतिक परिवर्तनपछि पटक–पटक सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले लामो समयपछि नयाँ अर्थमन्त्रीका रूपमा नयाँ अनुहार चयन गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विद्यार्थी राजनीतिबाटै सहयोग गर्दै आएका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट डा. रामशरण महत र महेश आचार्यले मात्रै अर्थमन्त्रीको जिम्मेवारी पाउँदै आइरहेकोमा यसपटक भने नयाँ अनुहारले प्राथमिकता पाएका हुन् ।

अनुभवी तथा अर्थशास्त्रका ज्ञातालाई मात्रै अर्थ मन्त्रालयको जिम्मेवारी दिने कांग्रेसको प्रचलनविपरित कार्कीले यो जिम्मेवारी पाएका हुन् । अर्थको नेतृत्व आचार्यलाई दिइने पूर्वअनुमान विपरित पूर्वजलस्रोतमन्त्रीसमेत रहेका कार्की प्रधानमन्त्रीको रोजाइमा परे । जलस्रोतमन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीको इच्छाविपरित माथिल्लो तामाकोसी जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने निर्णय गरेका कार्कीको राजनीतिक छवि प्रतिपक्षमाझ पनि लोकप्रिय छ ।

नेकपा एमाले र माओवादी केन्द्रले राजनीतिक व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने प्रचलन भियाएसँगै कांग्रेसले पनि सोही बाटो समाएको टिप्पणी पनि हुन थालेको छ । सपथपछि पदभार सम्हाल्न अर्थ मन्त्रालय पुगेका नवनियुक्त मन्त्री कार्कीले इतिहासमा सबैले स्मरण गर्नेगरी काम गरेर देखाउने दावी गरेका छन् ।

मन्त्री कार्कीले मुलुकको अर्थतन्त्रलाई कल्याणकारी राज्यको मार्गमा अगाडि बढाउने बताए । “नेपालको विकास र समृद्धिका लागि कसैसँग सम्झौता हुँदैन,” उनले भने, “जनताले महसुस गर्नेगरी नेपाललाई विकासको पथमा लैजान र बजेटले तोकेको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न दिनरात खटेर काम गर्नेछु ।”

उनले आफू जलस्रोतमन्त्री हुँदाको उदाहरण दिँदै पूर्ण इमानदारिताका साथ विकास र समृद्धिको चुनौति पार गर्न आफूले काम देखाउने दावी गरे । “जनताले महसुस गर्ने खालको आर्थिक समृद्धि र संविधान कार्यान्वयन सरकारको मुख्य प्राथमिकता हो,” उनले भने ।

आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण निर्माण र उपलब्ध स्रोतसाधनको समुचित प्रयोग आफ्नो प्राथमिकताका विषय भएको उनको भनाइ छ । आफ्नो कार्यकालमा दूरदराजका जनताले अनुभूत गर्ने काम गर्ने भन्दै मुलुकमा भर्खरै लागू भएको संघीयता कार्यान्वयन गर्नु यो सरकारको पहिलो प्राथमिकता रहेको बताए ।

कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदीले २३ वर्षपछि देश सकारात्मक रूपमा आर्थिक वृद्धिको दिशामा अगाडि बढेको भन्दै यसलाई निरन्तरता दिने जिम्मा नयाँ अर्थमन्त्रीको काँधमा आएको बताए । “नयाँ बजेट आइसकेको छ, संघीयता कार्यान्वयनको चरणमा छौं,” सचिव सुबेदीले आर्थिक गतिबिधिबारे मन्त्रीलाई अवगत गराउँदै भने, “यसको कार्यान्वयनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोग र अन्तरसरकारी वित्तीय हस्तान्तरणको विधेयक संसदमा छन् ।”

राजस्वसचिव राजन खनालले पनि पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता औल्याउँदै वित्तीय आयोग र वित्तीय हस्तान्तरणसम्बन्धी कानुन पास गरेर मुलकमा लागू भइरहेको संघीयता कार्यान्वयन गर्न सहज हुने र वित्तीय क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिवी नेपालले अर्थतन्त्रका सबैजसो परिसूचकहरू सकारात्मक रहे पनि व्यापारघाटा न्यूनीकरण मुख्य चुनौती रहेको बताए । “हाल देशको मुद्रास्फीति दर ३।४ प्रतिशत रहेको र यो अघिल्लो वर्षको भन्दा राम्रो देखिएको छ, र व्यापारघाटा न्यूनीकरण मुख्य चुनौती हो,” उनले भने, “सात प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न अर्थ मन्त्रालसहित राष्ट्रबैंकको पूर्ण सहयोग हुनेछ ।”

सचिवद्वय सुवेदी र खनाल तथा गभर्नर नेपालले अर्थतन्त्रका चुनौतीबारे अवगत गराएपछि अर्थमन्त्री कार्कीले इमान्दारिता अपनाइ सुशासन र पारदर्शीता कायम गर्न तथा त्यसविरुद्ध आइपर्ने सबैखाले चुनौतीको सामना गर्ने बताए ।

को हुन कार्की ?
२०३६ सालमा नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका कार्कीलाई बहुदलपछिका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले स्वकीय सचिव बनाएका थिए । २०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई प्रमुख सल्लाहकार बनाएका थिए । ०६२ र ०६३ को जनआन्दोलनपछिको मन्त्रिपरिषदमा कार्की जलस्रोतमन्त्री बनेका हुन् । उनी प्रजातान्त्रिक आन्दोलनमा लामो समयदेखि सक्रिय थिए ।

काँग्रेसमा सुरुमा भट्टराई र पछि देउवा नजिक रहेका कार्की पार्टीको आन्तरिक संगठनमा लोकप्रिय रहे पनि संसदीय निर्वाचनमा पराजयका कारण समकालीन नेताभन्दा पछि परेका थिए । उनी कांग्रेसभित्र इमानदार र नैतिकवान नेताका रूपमा परिचित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार