तरकारी खेतीको जरामा जुकाको असर


Share This


नेपालबहस संवाददाता    38 Views

ललितपुर । गोलभेँंडा, काउली, आलु, खुर्सानीलगायत तरकारीको जरामा गाँठा बनाउने जुकाका कारण किसानले पर्याप्त उत्पादन गर्न सकेका छैनन् । जुकाका कारण बोट पहेँलो, होचो र ओइलाउने गर्छ । कृिष अनुसन्धान परिषद (नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाका अनुसार जुकाले बालीमा प्रत्यक्ष र अप्रत्यक्ष दुबै रुपमा असर गर्छ ।

वैज्ञानिक चेतना मानन्धरका अनुसार प्रत्यक्ष रुपमा जुकाले जरामा आक्रमण गर्दा उत्पादन कम हुन्छ भने अप्रत्यक्ष रुपमा फलेको बालीको गुणस्तर कम हुन जाँदा बजार मूल्य कम पाउँछ । जुकाको आक्रमणले फलको आकार सानो र बाङ्गो हुने गर्छ ।

काउली, गोलभेँडा, भण्टा, आलु, खुर्सानी, रामतोरीया, गाजर, रायोसाग, बन्दा, परवल, प्याज, काँक्रो, फर्सी, ब्रोकाउलीलगायत तरकारीमा जुकाले आक्रमण गरेको पाइन्छ । शुरुमा जराको टुप्पोबाटभित्र पसेर जुकाले आफ्नो तिखो सुँडले कोषको रस चुस्छ । जुका छिरेको दुई÷तीन दिनमानै बालीमा गाँठा देखिन थाल्छ । मानन्धर भन्नुहुन्छ, “दिनदिनै गाँठा बढ्दै जान्छ र केही समयपछि उखालेर हेर्दा नाङ्गो आँखाले नै देख्न सकिन्छ ।”

तोरी, रायोलगायतको पिना, गाईबस्तुको मल, रायोको बीउ पिनेर बिरुवा रोप्दा रोग कम लाग्न सक्छ । बजारमा पाइने जरामा हाल्ने विषादी मिलाएर हाल्न यहाँ कार्यरत वैज्ञानिकले किसानलाई सल्लाह दिँदै आएका छन् । एक अध्ययन अनुसार कास्कीको हेम्जामा जुकाको कारण गोलभेंँडामा २० देखि ३० प्रतिशतसम्म उत्पादन कमी आएको थियो ।

तपाईको प्रतिक्रिया