सवारी चालक लाइसेन्सको आवेदन बन्द


Share This


नेपालबहस संवाददाता    43 Views

काठमाडौं । यातायात व्यवस्था विभाग अन्तर्गतका विभिन्न कार्यालयबाट लिँदै आएको लाइसेन्सको आवेदन बन्द भएको छ । विभागले सूचना जारी गर्दै विभिन्न मातहतका कार्यालयलाई कुनै पनि फारम नलिन निर्देशन दिएको हो । पछिल्ला दिन विभागले अनलाइनबाट मात्रै फारम लिँदै आएको थियो ।

एकान्तकुना, सुकेधारा, जगाती, ठूलो भर्‍याङ, कोशी, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धवलागिरि, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीका कार्यालयलाई अनलाइन फारम रद्द गरिएको सूचित गर्दै विभागले आवेदन नलिन भनेको हो । हालसम्म खुलाइएको अनलाइन फारमको ट्रायल असार १५ भित्र सक्नुपर्ने भएकाले यस आर्थिक वर्षमा कुनै पनि फारम नलिन विभागले कार्यालयहरूलाई निर्देशन दिएको हो । अनलाइनबाट फारम भरेकाहरूको असार मसान्तसम्म रिट्रायल सकेर राजस्वलगायतको हिसाब मिलान गर्नुपर्ने विभागले बताएको छ । सोही प्रयोजनका लागि लाइसेन्सको फारम लिन बन्द गरिएको जानकारी उसले दिएको छ ।

फारम भरेकाहरूको ट्रायल लिन करीब १५–२० दिन लाग्ने र त्यसपछिको अवधि यस आवको सङ्कलित राजस्वको हिसाब मिलाउन लाग्ने विभागका प्रवक्ता तुल्सीराम अर्यालले बताए । ‘असार आर्थिक वर्षको अन्तिम महीना भएकाले अहिले लाइसेन्सको आवेदन बन्द गरिएको हो,’ उनले भने । नयाँ आर्थिक वर्ष अर्थात् साउन १ गतेदेखि पुनः लाइसेन्सको फारम लिन शुरू गरिने उनको भनाइ छ । मुलुकभरबाट दैनिक करीब ५ हजारले लाइसेन्सका लागि आवेदन दिने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार