बाढी पीडितलाई चौधरी ग्रुपको चाउचाउ, यातायात व्यवसायीको नगद राहत


Share This


नेपालबहस संवाददाता    148 Views

१ भदौ, काठमाडौं । चौधरी ग्रुपले सप्तरीका तीनवटा गाउँका बाढीपीडित परिवारलाई बुधबार राहत वितरण गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाअन्तर्गत २, ३ र ४ नं वडाको सकरदही, मधुवापुर र कदमाहाका ५७० परिवारलाई राहत प्रदान गरिएको जानकारी गु्रपले दिएको छ ।

सो ग्रुपले बाढीबाट विस्थापित तथा प्रभावित भएका परिवारलाई दश प्याकेट चाउचाउ, एक किलो भुजिया र एक बोतल मिनरल वाटरलगायतको सामग्री वितरण गरिएको चौधरी ग्रुपका सिनियर म्यानेजर अनिल सिंहले जानकारी दिए ।

यस्तै, एक हप्ता अगाडि सप्तरीको राजविराज–१५ स्थित खाँडो नदीमा देउरी भरुवाबाट बगेर बेपत्ता भएका डोमी यादवको परिवारलाई राष्ट्रिय जनता पार्टीले आर्थिक सहयोग गरेको छ ।

राजपा सप्तरीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रसिंह यादवको नेतृत्वमा स्थानीय नेता तथा कार्यकर्ताले बेपत्ता यादवको परिवारलाई रु ११ हजार आर्थिक सहयोग गरेको राजपा नेता गजेन्द्र मण्डल (अनुराग)ले जानकारी दिए ।

त्यस्तै यातायात व्यवसायीले पनि बाढीपीडितलाई सहयोग

गरेका छन् । यातायात व्यवसायी समितिले दाङका बाढीपीडित लाई रु एक लाख २२ हजार सहयोग गरेको जानकारी दिएको छ ।

उनीहरुले बुधबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई सो रकम हस्तान्तरण गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव सुरेश हमालको नेतृत्वमा नगरपालिकामा पुगेर संयुक्तरुपमा सो रकम बाढीपीडितको सहयोगार्थ जम्मा गरिएको हो ।

राप्ती अञ्चल सार्वजनिक यातायात समितिले रु २५ हजार, राप्ती अञ्चल साना मालबाहक समितिले रु २१ हजार, तुलसीपुर जिप तथा माइक्रोबस व्यवसायी समितिले रु २१ हजार, राप्ती अञ्चल ट्रक व्यवसायी समितिले रु २३ हजार, दाङ जिल्ला ट्र्याक्टर व्यवसायी समिति, अम्बिकेश्वरी सार्वजनिक राप्ती समितिले रु २१ हजार गरी रु एक लाख २२ हजार सहयोग गरिएको हो ।

यसअघि तुलसीपुर उपमहानगरपालिकाको सो कोषमा विभिन्न संघ संस्थाले रु २५ लाख जम्मा गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया