चिनियाँ पाइलटले नेपाली विमान उडाउने, अफ्रिका र दक्षिण अमेरिकाबाट पनि ल्याउने तयारी


Share This


नेपालबहस संवाददाता    297 Views

२२ वैशाख, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले तीन जना चिनियाँ पाइलट (विमानचालक) ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

वाइ–१२ सिरिजका विमान उडाउनका लागि निगमले अंग्रेजी बोल्न जान्ने पाइलट ल्याउन लागेको हो ।

मासिकप्रति पाइलट आठ हजार अमेरिकी डलर तलब सुविधा दिने गरी तीन पाइलट ल्याउन लागिएको निगमले जनाएको छ ।

वाइ १२ विमान उडाउनसक्ने तीन चिनियाँ पाइलट ल्याउने प्रक्रियामा रहेको र अन्य मुलुकबाट पनि पाइलट ल्याउन पहल भइरहेको निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।

उनका अनुसार चीनका अलावा अफ्रिका र दक्षिण अमेरिकाबाट पनि वाइ १२ उडाउने पाइलट ल्याउने प्रक्रिया अघि बढेको छ ।

अफ्रिका र दक्षिण अमेरिकामा पनि वाइ १२ चलाउने पाइलट पाइन्छ भन्ने जानकारीका आधारमा त्यहाँ खोजी भएको हो । एक÷दुई जना पाइलट त्यहाँबाट पनि ल्याउने प्रक्रियामा छौँ, अहिले उनीहरुको लाइसेन्स र बायोडाटा मगाएका छौँ,” महाप्रबन्धक कंशाकारले भने ।

चिनियाँ पाइलटको भने लाइसेन्स ल्याएर नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमतिका लागि कागजपत्र बुझाइएको छ ।

छोटो अवधिका लागि करारमा चिनियाँ पाइलट ल्याउन लागिएको हो । नेपाली पाइलट तयार भए पनि उनीहरुलाई फर्काइनेछ । लामो समयसम्म उनीहरुलाई राख्दा खर्चभार महँगो हुने भएकाले नेपाली पाइलट तयार नभएसम्म मात्र चिनियाँ पाइलट राखिनेछ ।

चिनियाँ पाइलट सबै प्रक्रिया पूरा गरेपछि अबको एक महिनाभित्र आइपुग्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताए ।

“चिनियाँ पाइलट ल्याउने प्रक्रिया अन्तिम चरणमा छ, अबको एक महिनाभित्र ती पाइलट नेपाल आउनेछन्,” उनले भने । अहिले निगमका नेपाली पाइलटले छदेखि आठ लाख तलब पाउने गरेका छन् ।

निगममा लामो समयदेखि पाइलट अभाव छ । अभाव पूर्ति गर्न हालै ४३ जना पाइलटको माग गरेकामा जम्मा ११ जनाको मात्र निवेदन परेको निगमले जनाएको छ ।

आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ विमान उडाउन समस्या भएपछि निगमले सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न विमान उडानका लागि पाइलट करारमा राख्न आवेदन मागेको थियो ।

हालैमात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले चीनबाट ल्याइएका सबै विमान तीन महिनाभित्र उडाउन निर्देशन दिएका थिए ।

चिनियाँ विमान निगमलाई हस्तान्तरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित समारोहमा उनले यस्तो निर्देशन दिएका थिए ।

निगमका पदाधिकारीले सकेसम्म उक्त अवधिमा विमान उडाउन प्रयास गरिने बताएका थिए । तर अहिलेसम्म पनि पाइलटको टुंगो लागेको छैन ।

निगममा रहेका चार वटा वाइ १२ विमान उडाउनसक्ने दुई जना मात्रै पाइलट छन् । बाँकी दुई वाइ १२ विमान चल्न सकेका छैनन् ।

विसं २०६९ मा नेपाल र चीनबीच (दुई वटा एमए ६० र चार वटा वाइ १२) गरी छ वटा जहाज ल्याउने सहमति भएको थियो । अहिले छवटै विमान नेपाल आइसकेका छन् । छ विमानमध्ये दुई विमान वाइ १२ र एमए ६०, ९५६ सिट क्षमताका विमान चीनको अनुदानमा ल्याइएको हो भने बाँकी एक एमए ६० र तीन वाइ १२ गरी चार विमान सहुलियत ऋणमा खरिद गरिएको निगमले जनाएको छ ।

निगमका पुराना तीनसहित नौ वटा विमान आन्तरिक उडानका लागि छन् भने अन्तर्राष्ट्रियतर्फ एक बोइङ र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ । हाल निगमले देशका विभिन्न २३ गन्तव्यमा आन्तरिक उडान भर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार