विमानस्थलमा वैदेशिक रोजगार सहायता कक्ष सञ्चालन


Share This


नेपालबहस संवाददाता    70 Views

हिलारी विमानस्थलमा सुरक्षा जाँचको लागि विद्युतीय उपकरण जडान हुने

२४ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजोदेखि वैदेशिक रोजगार सहायता कक्ष सञ्चालनमा आएको छ ।

यही वैशाख ३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सहायता कक्षको स्थापना गरिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका प्रमुख रघुराज काफ्लेले जानकारी दिए । बोर्डको निर्णयका बारेमा काफ्लेले जानकारी दिए, “विदेशबाट आउने शव राख्ने ठाउँसमेत विमानस्थलमा थिएनन्, अब सहायता कक्षमा नै राख्न सकिने व्यवस्था भएको छ ।”

विदेशबाट अलपत्र आउने बिरामीको उपचारलगायत मानसिक सन्तुलन गुमेर आउने र अङ्गभङ्ग भएकाको परिवारको खोजी गर्ने काम पनि कक्षले गर्ने उनले जानकारी दिए । सहायता कक्षको स्थापनाबाट पीडितको परिवारलगायत विमानस्थललाई व्यवस्थित बनाउनसमेत सहज भएको छ । विदेशबाट आउने शवलाई घरसम्म पु¥याउनका लागि शव वहानको व्यवस्थासमेत कक्षले नै मिलाउने छ ।

विमानस्थलमा सुरक्षा जाँच गर्न विद्युतीय उपकरण जडान गरिने

आन्तरिक उडानमा निकै व्यस्त रहने सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थलमा सुरक्षा जाँचको लागि विद्युतीय उपकरण जडान गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहितको टोलीले विमानस्थलको निरीक्षण गर्दै विमानस्थलमा सुरक्षा जाँचका लागि विद्युतीय उपकरणकोे प्रयोग गर्न निर्देशन दिएसँगै उपकरण जडान हुने भएको हो ।

मन्त्री अधिकारीले विमानस्थलको स्थलगत निरीक्षण गर्दै सुरक्षा चेकजाँचमा अनिवार्य मेसिनको प्रयोग गर्नुपर्ने बताए । उनले उपकरणको प्रयोग गर्दा आवश्यक पर्ने विद्युत्को प्रबन्ध मिलाउन गाउँपालिकालाई निर्देशन दिए ।

अहिले लुक्ला विमानस्थलमा यात्रुसहित उनीहरुको अन्य सामग्री नेपाल प्रहरीले हातैले जाँच गर्ने गर्छन् । उक्त विधि भरपर्दो नहुने भएकाले तत्काल सुरक्षा जाँचका लागि उपकरणको प्रयोग कार्यन्वयनमा ल्याउन मन्त्री अधिकारीले सुझाव दिएको विमानस्थलको सुरक्षार्थ खटिइनुभएका प्रहरी नायब निरीक्षक देवनारायण महतोले जानकारी दिए ।

अधिकांश यात्रु बाह्य पर्यटक हुने भएकाले चेकजाँचका लागि उपकरण नहुँदा खिल्ली उडाउने गरेको पर्यटन व्यवसायीको भनाइ छ । ट्रेकिङ गाइड चुडामणि केसीका अनुसार पर्यटकको भीड लाग्ने विमानस्थलमा चेकजाँचका लागि उपकरण नहुँदा ढिला हुने र पर्यटकले समेत झन्झट मान्ने गर्छन् ।

नागरिक उडड्यन प्राधिकरण लुक्लाका अनुसार यहाँ दैनिक २०० सम्म उडान तथा अवतरण हुने गर्छ । यस्तै दर्जनौँ हेलिकप्टरले उडान भर्ने भए पनि ‘हेलीप्याड’ समेत अभाव देखिएको छ । विमानस्थलको अनुगमन गर्दै मन्त्री अधिकारीले तत्काल हेलीप्याड निमाण गर्नसमेत निर्देशन दिए ।

उनले हेलीप्याड सानो भएकाले आगामी जेठ १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी काम अघि बढाउन निर्देशन दिएका छन् । पर्यटकीय क्षेत्रको हेलीप्याड अत्यन्तै व्यस्त हुने गरेको भए पनि हेलीप्याड सानो भएको मन्त्री अधिकारीको भनाइ छ । हेलीप्याड निर्माणका लागि यसअघि नै १० रोपनी जग्गा लुक्लामा नै खरिद भए पनि निर्माणको काम भने शुरु हुन सकेको छैन ।

त्यस्तै विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटकीय मौसममा एकै दिनमा ८०/९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकैपटक तीन÷चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्नेजस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रुहरु समस्यामा पर्ने गरेका बताउँछन् ।

केही वर्षअघि माइकिङ सेवा थियो तर पछि प्राविधिक समस्या आएकोे भन्दै बन्द भएपनि पुनः सञ्चालन भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार