मुलुकको हितमा डिपिआर तय गर्न प्रधानमन्त्री देउवाले दिए निर्देशन, सरकारको मुख्य प्राथमिकता आर्थिक समृद्धि


Share This


नेपालबहस संवाददाता    156 Views

१८ भदौ, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बुहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दा मुलुकलाई फाइदा हुने गरी मात्रै अघि बढ्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सरोकारवाला निकायका प्रतिनिधिलाई बोलाएर प्रधानमन्त्री देउवाले परियोजनाको उपभोगअनुसार लागत भार हुनेगरी डिपिआर तयार गर्न निर्देशन दिएको गोविन्द परियारले जानकारी दिए ।

‘पञ्चेश्वर परियोजना सुरु भएको २१ वर्ष भयो तर अझैसम्म कुनै उपलब्धि हुन सकेको छैन’ प्रधानमन्त्री देउवाले भने, ‘अब नेपाललाई फाइदा हुनेगरी यो परियोजनाको डिपिआरमा सहमति गर्नुस् ।’

प्रधानमन्त्री देउवाको अघिल्लो हप्ता भएको भारत भ्रमणका क्रममा एक महिनाभित्र पञ्चेश्वरको डिपिआर तयार गर्ने सहमति भएको थियो । सोही अनुसार मंगलबारदेखि भारतको नयाँदिल्लीमा दुई देशका विज्ञ समुहबीच त्यस विषयमा दुई दिने छलफल हुँदैछ ।
उक्त परियोजनामा नेपालतर्फबाट कुल लागतको ३७ प्रतिशत र भारतले ६३ प्रतिशत लगानी गर्नुपर्ने नेपाल सरकारको अडान कायमै राख्न पनि प्रधानमन्त्री देउवाले निर्देशन दिएको परियारले जानकारी दिए ।

बैठकमा जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासेले उक्त परियोजनाको विस्तृत विवरणका साथै नेपालको अडान र भारतको अडानका विषयमा ब्रिफिङ गरेका थिए ।

बैठकमा उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, सिँचाइ मन्त्री सन्जय गौतम, मुख्यसचिव, परराष्ट्र, उर्जा, सिचाई, र प्रधानमन्त्री कार्यालयका सचिव र पञ्चेश्वर प्राधिकरणका पदाधिकारी तथा विज्ञ समुहका सदस्यहरु सहभागी भएका थिए ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक समृद्धि सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् ।

नेपाल–भारत दौंत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको उपलक्ष्यमा काठमाडौँमा आयोजित पश्चिम बंगाल पर्यटन तथा व्यापार मेलाको आज उद्घाटन गर्दै उनले मुलुकमा रहेका प्राकृतिक स्रोत साधनलाई समुचित उपयोग गरी आर्थिक समृद्धि प्राप्त गर्न सकिने बताए ।

मुलुकमा राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बनेको र वैदेशिक लगानी भित्र्ने क्रममा रहेको भन्दै प्रधानमन्त्री देउवाले प्रचूर सम्भावना रहेको ऊर्जा, पर्यटनजस्ता क्षेत्रमा लगानीको अवसर रहेको उल्लेख गरे । उनले देशमा यतिखेर संविधान पूर्ण कार्यान्वयनको प्रक्रियामा रहेको र लगानीको वातावरण बनेको बताए ।

प्रधानमन्त्री देउवाले हालै सम्पन्न आफ्नो भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्रीसहित सरोकारवालासँग भएको छलफलले व्यापार प्रवद्र्धन र लगानी भित्र्याउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले मुलुकमा राजनीतिक स्थायित्व भई संविधान कार्यान्वयनको चरणमा रहेकाले आर्थिक लगानीको वातावरण बनेको उल्लेख गरे ।

उनले नेपाल र भारतका उद्यमी व्यवसायी एक ठाउँमा भेला भएर आपसी आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका साथै पश्चिम बंगालका व्यवसायीलाई यहाँ आएर लगानी गर्न सक्ने वातावरण निर्माण गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपालका लागि भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा अजय कुमारले नेपाल–भारत दौत्य सम्बन्धको ७०औँ वर्ष पुगेको अवसरमा दुवै देशको आर्थिक, सामाजिक, धार्मिक, पर्यटकीय, सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन मेला उपयोगी हुने बताए ।

नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपालस्थित भारतीय राजदूतावास र पश्चिम बंगाल उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सोल्टी होटलमा आयोजित मेला आगामी २० गतेसम्म सञ्चालन हुनेछ । मेलामा प्रख्यात बंगाली खानाका परिकार तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार