‘माथिको आदेश’ भन्दै सभागृहको सडक नखोल्दा सवारी जाम र यात्रुलाई सास्ती


Share This


नेपालबहस संवाददाता    155 Views

७ जेठ, काठमाडौं । गत एक सातादेखि राष्ट्रिय सभागृहबाट पद्मोदय मोडसम्मको सडक बन्द गरिएको छ । दैनिक सयौँको संख्यामा सवारीसाधन र पैदलयात्री हिँड्दै आएको सो बाटो बन्द गरिँदा सवारी साधन र यात्रु सास्ती खेप्न बाध्य छन् ।

राजधानीको मुटुमा रहेको यो सडक बन्द हुँदा सहरका मुख्य भागमा जाम हुने गरेको छ । यो सडक बन्द भएको निहुँ पारेर उपत्यकामा सञ्चालन भइरहेका यातायात व्यवसायीले मन लागे सवारी चलाउने मन नलागे बाटो बन्द छ भन्दै ग्यारेजमा थन्क्याएर राख्दा यात्रु दोहोरो मर्कामा परेका छन् । सवारी नपाउँदा यात्रु राति अबेरसम्म पैदल हिँड्न बाध्य छन् ।

साँखु घर भई न्युरोडस्थित एक पसलमा कार्यरत समिना श्रेष्ठ यो सडक बन्द भएकैले बेलुकी सवारी पाउन नसकिएको बताउँछिन् ।

“बेलुकी सवारी नपाउँदा कहिले दुई, तीनवटा सवारी परिवर्तन गरेर घर जानुपर्छ त कहिले हिँडेरै जानुपर्छ, सडक थोरै बन्द गरेपनि हामीले धेरै दुःख पाउनु परेको छ, जनप्रतिनिधि निर्वाचित भएपछि हाम्रा समस्या समाधान गर्लान् भनेको सुरुमै सास्ती खेप्नुप¥यो” – आफूले भोगेको अनुभव सुनाउँदै उनले थपिन् ।

रमाइलो त के छ भने यो सडक कसले बन्द गरेको भनी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक लोकेन्द्र मल्लसँग जिज्ञासा राख्दा माथिको आदेशमा बन्द गरिएको उनले बताए । माथिको कुन निकायको आदेशमा बन्द गरिएको भन्ने उनले खुलाउन चाहेनन् । ट्राफिक प्रहरीले माथिको आदेशमा सडक बन्द गरेको बताएपछि गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीसँग सम्पर्क गर्दा मन्त्रालयले सडक बन्द गर्ने आदेश नदिएको जानकारी गराए ।

“माथिको आदेशमा सडक बन्द गरिएको भनी अमूर्त कुरा गर्न मिल्दैन, कसले सडक बन्द गर्न भनेको छ चिठ्ठी छ भने देखाउन सक्नुपर्छ” – उनले भने ।

मत परिणाम सुन्न आउनेको भीड व्यवस्थापनकै लागि सडक बन्द गरिएको भन्ने तर्कसँग सहमत हुन नसकिने सडक प्रयोगकर्ताको भनाइ छ । सामाजिक सञ्जाल नहुँदाका बेला सभागृहमा मत परिणाम सुन्न भीड लागेजस्तो अहिले छैन । मत परिणामका विषयमा सूचना सम्प्रेषण गर्न प्रमुख सञ्चारमाध्यमका पत्रकार सभागृहभित्रै बसेका छन् । सूचना सार्वजनिक हुने बित्तिकै राष्ट्रियस्तरका सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।

अझ फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालका कारण मत गणनास्थलमा रहेका दलका प्रतिनिधि, सञ्चारकर्मीले नयाँ सूचना प्राप्त हुनासाथ सार्वजनिक गरिरहेकै छन् । यसैले गर्दा सभा गृह परिसरमा मत परिणाम सुन्न पहिले जति भीड छैन । कुनै दलले वडा विजय गर्दा सामान्य ¥याली निस्कने गरेको छ । यसका लागि सडक बन्द गरेर यात्रुलाई दुःख दिनु नपर्ने सवारी खोज्दै भौँतारिनु भएका श्यामसुन्दर श्रेष्ठ बताउँछन् ।

वैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन भएपछि त्यसै दिन रातिदेखि काठमाडौँ महानगरपालिको मतगणना सभागृहमा भइरहेको छ । अहिले १३ स्थानमा मतगणना भइरहे पनि सबै मतगणना सक्न अझै एक साता लाग्ने देखिन्छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामा सभागृहबाट पद्मोदय मोड सडकमा सवारी रोकेकै कारण मतगणना स्थललाई व्यवस्थापन गर्न सकिएको दाबी गर्छन्।

“सभागृहबाट पद्मोदय मोडसम्म सवारी चलाउन दिने हो भने सवारी र मानिसको भीड व्यवस्थापन गर्न सकिँदैन, अहिले सडकमा सवारी रोकेकैले मतगणनामा सहज भएको छ”–उनले भने।

ट्राफिक प्रहरी महाशाखाले शङ्करदेवबाट पुराना बसपार्कसम्मको सडकको दायाँबायाँ दोहोरो सवारी पार्किङ गर्न दिँदा सवारी चलाउन अप्ठ्यारो भएको चालकको गुनासो छ । यो क्षेत्रमा पार्किङ निषेध नगर्दा पनि घन्टौँ जाममा बस्नुपर्ने बाध्यता रहेको चालक ज्ञानबहादुर तामाङले बताए ।

अघिपछि सडकमा पार्किङ गर्ने सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिए पनि एक सातादेखि स्थानीय तह निर्वाचनकै कारण वास्ता नगरेको यहाँका स्थानीय व्यापारीको भनाइ छ । एकतर्फी मात्र भए पनि यो सडक खुलाए यात्रुले सास्ती खेप्नु नपर्ने उनीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया