नारायणगढ–मुग्लिन सडकको विकल्पको खोजी, धादिङको मलेखुबाट चितवनको भण्डारा वा मुग्लिनबाट देवघाट हुँदै नवलपरासीको गैँडाकोट


Share This


नेपालबहस संवाददाता    110 Views

१९ असोज, काठमाडौं । बढ्दो सवारी चाप र थप सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजी गरिएको छ ।

हाल सो सडकमा दैनिक आठ हजारदेखि १० हजार सवारी साधन आवतजावत गर्ने गर्छन् । आउँदो पाँच वर्षभित्रमा यो संख्या १५ हजार हाराहारी पुग्ने अनुमान छ ।

हाल विस्तार भइरहेको सडकले पाँच वर्षपछि सवारीको चाप थेग्न नसक्ने देखिएको छ । जसका कारण सो सडकको विकल्पको रुपमा धादिङको मलेखुबाट चितवनको भण्डारा जोड्ने ग्रामीण सडकलाई विस्तार गर्न पहिलो विकल्पका रुपमा अघि सारिएको छ भने दोस्रो विकल्पका रुपमा मुग्लिनबाट देवघाट हुँदै नवलपरासीको गैँडाकोटसम्मलाई लिइएको छ ।

यी दुवै विकल्पका सडकको विस्तृत डिजाइनका लागि परामर्शदाता छनोट गरिसकिएको सडक विभागको एशियाली विकास बैंक आयोजनाका निर्देशक केशवकुमार शर्माले बताए । यी दुई सडकसँगै अन्य सात वटा सडक र तीन वटा पुलसमेतको डिजाइनका लागि कोरियन परामर्शदाता छनोटमा परेको छ । आउँदो साता कामको सम्झौता गरिने उनले बताए । अन्य सडक र पुलका लागि एक वर्ष छ महिनाको समय तोकिएको भए पनि मलेखुबाट भण्डारासम्मको सडकका लागि भने एक वर्षभित्रमा परामर्शदातालाई प्रतिवेदन बुझाउन भनिएको छ ।

बाटो खोलिसकेको र सडकमा सवारी कम गुड्ने हुँदा काम गर्न पनि सहज हुने भएकाले छिटो निर्माण गर्न सकिने अनुमान छ ।

दोस्रो विकल्पका रुपमा लिइएको मुग्लिन–देवघाट–गैँडाकोट सडक पनि चट्टानको फेदमा नदीको तिरैतिर बनाउनु पर्ने हुन्छ । हालको नारायणगढ–मुग्लिन सडकलाई विस्तार गर्न कठिन हुँदा विकल्पका रुपमा मानिएको भए पनि धेरै फराकिलो भने सो सडक बनाउन कठिन देखिएको छ । पश्चिमबाट आउने सवारीलाई सो सडक प्रयोग गरेर, पूर्वबाट आउने सवारीलाई भण्डारा–मलेखु सडक प्रयोग गर्दा सवारी चाप व्यवस्थापन गर्न सकिने अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार