बैरोचन तीर्थ विहारको पुनःनिर्माण अधुरो


Share This


नेपालबहस संवाददाता    40 Views

काठमाडौं । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको स्वयम्भूस्थित बैरोचन तीर्थ विहारको पुनःनिर्माण सरकारी बेवास्ताका कारण अझै पूरा भएको छैन ।

पञ्च बुद्धमध्ये एक बैरोचन बुद्ध रहेको ऐतिहासिक महत्वको उक्त विहार भित्रको पोखरीमा शिलु तीर्थको पानी खस्ने गरेको जनविश्वास छ । उक्त पोखरीमा विभिन्न रंगका पाँचै प्रकारका नाग रहेको र ती नाग बेला बेला घाम ताप्न आउने स्थानीय बासिन्दाले बताएका छन् ।

रासससँगको कुराकानीमा बैरोचन विहार पुनःनिर्माण मूलसमितिका संयोजक तथा बौद्धविद्धान सागरमान बज्राचार्यले विहार जीणोद्वारका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट कुनै सहयोग प्राप्त नभएको र आर्थिक अभावका कारण पुनःनिर्माण ढिलो शुरु भएको बताए ।

हाल काठमाडौं महानगरपालिकाको रु ४० लाख तथा रू आठ लाख बराबरको जनसहयोग तथा श्रमदान जुटाइ विहारको दुई तला निर्माण भइसकेको छ । बैरोचन बुद्धको कक्ष तथा हल निर्माण गरी मूर्ति स्थापना भइसकेपनि रंगरोगनको काम बाँकी रहेको छ ।

बज्रयान बौद्धधर्माबलम्बीको प्राचीन पुर्खाको सम्पत्तिको रुपमा रहेको सो विहार बज्रयान बज्राचार्यले संरक्षण गर्दै आएको इतिहास रहेको उनले बताए ।

पुनःनिर्माण भएको विहारमा बैरोचन बुद्धको मूर्तिमा ‘जीवन्यास’ दिइने कार्यक्रममा सातजना बौद्ध छोरीलाई ‘ईही कर्म’ गराइसकेको संयोजक बज्राचार्यले बताए ।

उक्त विहारको जीणोद्वारका लागि रु १० हजारदेखि रु एक लाखभन्दा बढी सहयोग गर्ने तथा ९पिलर, झयाल, ढोका, छाना तथा गजुरजस्ता महत्वपूर्ण सहयोग गर्ने दाताको नाम शिलापत्र तथा स्मारिकामा प्रकाशन गर्नुका साथै अभिनन्दन समेत गरिने बताइएको छ । रासस

तपाईको प्रतिक्रिया