ग्लोबल टी–२० : प्लेअफमा सन्दीपको तीन विकेट


Share This


नेपालबहस संवाददाता    39 Views

काठमाडौं । सन्दीप लामिछानेले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगको प्लेअफ खेलमा ३ विकेट लिएका छन् । क्यानडामा यो उनको उत्कृष्ट प्रदर्शन हो ।

सन्दीपको प्रदर्शनमा मोन्ट्रियल टाइगर्सले मंगलबार शीर्षस्थानको वेस्ट इन्डिज ‘बी’ लाई सजिलै ६ विकेटले पराजित गरेको हो । ६ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिताको राउन्ड रोबिन खेलमा वेस्ट इन्डिज ‘बी’ शीर्षस्थान र मोन्ट्रियल पुछारमा थिए । सोहीअनुरुप शीर्षस्थान र पुछारको टोलीबीच प्लेअफमा प्रतिस्पर्धा भएको हो ।

प्लअफको यो खेलको पनि अंक जोडिने छ । त्यसका बाबजुत पनि सन्दीप समावेश मोन्ट्रियलको शीर्ष चारमा परेर दोस्रो चरणमा पुग्ने सम्भावना पातलो छ । मोन्ट्रियल ४ अंकसाथ पाँचौं स्थानमा छ । ४ अंक नै बोकेको विनिपेग हवाक्स अन्तिम खेलमा ठूलो अन्तरले पराजित भएमा मात्र मोन्ट्रियलको दोस्रो चरणमा पुग्ने सम्भावना रहन्छ ।

टोरन्टोमा भइरहेको प्रतियोगितामा मंगलबार सन्दीपको सुरुआत राम्रो हुन सकेन । सन्दीप तेस्रो ओभर लिएर आए र उनको पहिलो तीन बलमा ब्रान्डोन किङले लगातार चौका प्रहार गरे । चौथो बलमा सन्दीपले उनलाई आउट गरे । सन्दीपले खेलमा कुल ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिएपछि टस हारेर ब्याटिङमा निम्त्याइएको वेस्ट इन्डिज ‘बी’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ६२ रनमात्र बनाउन सक्यो । सन्दीपले ओपनर सामर स्प्रिङगर र निकोलास पुरानको पनि विकेट लिए ।

म्यान अफ द म्याच सुनील नारिनले २५ बलमा १ चौका र ९ छक्का प्रहार गर्दै ६१ रन बनाएपछि मोन्ट्रियलले १७।३ ओभरमा लक्ष्य पूरा गर्‍यो । हेनरिक मोइसेस ३२ रनमा आउट भए । सिकन्दर राजा ३२ र नाजीबुल्लाह जाद्रान २९ रनमा नटआउट रहे ।

राउन्ड रोबिनमा वेस्ट इन्डिज ‘बी’ सँग २ विकेटले पराजित खेलमा निकै महँगा साबित भएका सन्दीपले ४ ओभरमा ५७ रन खर्चेर १ विकेट लिएका थिए । सन्दीपले प्रतियोगितामा कुल ५ खेल खेल्दै ८ विकेट लिए । मोन्ट्रियलले उनलाई ४० हजार डलरमा अनुबन्ध गरेको थियो ।

तपाईको प्रतिक्रिया