नेपाल ९६ रनले पराजित, विश्वकपमा छनोट हुन असफल


Share This


नेपालबहस संवाददाता    332 Views

१० साउन, काठमाडौं । सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपाल टेष्ट राष्ट्र अफगानिस्तानसँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ९६ रनले पराजित भएको हो ।

पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा अफगानिस्तानले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर ३ बलमा मात्र ९९ रनमा समेटियो । छनोटमा अफगानिस्तानसँग नेपालको यो दोस्रो हार हो । पहिलो भेटमा पनि नेपाल १४१ रनले पराजित भएको थियो ।

योसँगै आठौं पटक विश्वकप खेल्ने नेपालको सपना सकिएको छ । गत वर्ष नेपालले बंगलादेशमा भएको विश्वकप खेलेको थियो । नेपाललाई पराजित गरेसँगै अफगानिस्तान भने शतप्रतिशत जितसहित न्युजिल्यान्डमा आगामी वर्ष हुने विश्वकपको लागि छनोट भएको छ । राउण्ड रोबिनका आधारमा भएको छनोटमा नेपाल ६ खेलमा ४ जित र २ हारसहित ८ अंक जोडेर दोस्रो स्थानमा रह्यो । लगातार ६ खेल जितेको अफगानिस्तान १२ अंक जोडेर शिर्ष स्थानमा रहँदै विश्वकप यात्रा तय गर्यो । अन्तर्राष्ट्रिय क्रिकेट परिसद आईसीसीको प्रावधान अनुसार एसिया क्षेत्रको छनोटको शिर्ष टोलीले विश्वकपमा सहभागिता जनाउन पाउँछन् ।

अफगानिस्तानले दिएको उच्च लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालको ब्याटिङ सुरुवातबाटै धर्ममराएको थियो । १८ रनको स्कोरमा ३ विकेट गुमाएको नेपालले ३४ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाएको थियो । तर, नेपाली टोलीको पारी दिपेन्द्र सिंह ऐरीले उकासेका थिए । दिपेन्द्रले ८१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४८ रन बनाए । यस्तै प्रकाश केसी र पवन सर्राफले समान १०–१० रन बनाए ।

नेपालका ८ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सन्दिप सुनार र अनिल साह समान ६ – ६ रनमा आउट हुँदा रोहित कुमार पौडेल ३, कप्तान सन्दिप लामिछाने र आसिफ शेख समान २ – २ तथा प्रनित थापा मगर शून्य रनमा पेभेलियन फर्किए । अफगानिस्तानका युसुफ जाजीले ४ मुजिब उर रहमानले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १९५ रन बनाएको थियो । अफगानिस्तानको उच्च योगफलमा ओपनर इब्राहिम जाड्रनले शतकीय पारी खेले । दिपेन्द्र सिहं ऐरीले बलमा साहब आलामको हातबाट क्याच आउट हुनुअघि जाड्रनले १०१ रनको शतकीय पारी खेले । उनले ११४ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए ।

यस्तै कप्तान नभिन उल हक डकआउट भएको खेलमा अफगानिस्तानका इक्राम अलीले २४, नाभिद ओबैडले २२ तथा सामसुर रहमानले १५ रन जोडे । नेपालका साहब आलमले ३० रन खर्चिएर ४ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले ३ तथा कप्तान सन्दिप लामिछाने र पवन सर्राफले समान एक एक विकेट लिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार