जिल्लाव्यापी अण्डर–१६ फूटसल गोलकपको उपाधि कौशलटारलाई


Share This


नेपालबहस संवाददाता    31 Views

भक्तपुर । भक्तपुरमा आयोजना भएको जिल्लाव्यापी अण्डर–१६ फूटसल गोलकपको उपाधि आदर्श जनप्रेमी मावि कौशलटारले हात पारेको छ । प्रतियोगिताको आज भएको फाइनल खेलमा मोर्डन स्कूललाई टाइबेकरमा ३–१ गोल अन्तरले हराउँदै जनप्रेमीले उपाधि हात पारेको हो ।

प्रतियोगितामा प्रेशियस स्कूल बालकोटले क्याण्डिड इन्टरनेशनल स्कूललाई १–० को गोल अन्तरले हराउँदै प्रतियोगितामा क्रमशः तेस्रो र चौथो भएका छन् ।

भक्तपुरको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमी नगरपालिकाको सहयोगमा युवाका साथ आवाज नामक संस्थाले गत मंगलबारदेखि आयोजना गरी आज सम्पन्न प्रतियोगितामा जिल्लाका ३२ विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई प्रदेश नं ३ का प्रदेश सदस्य शशिजंग थापाले नगद रु १५ हजार, रु १० हजार र रु पाँच हजारसहित पदक तथा शिल्ड प्रदान गर्नुभयो । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पदक प्रदान गरियो ।

कार्यक्रममा प्रदेश सदस्य थापाले खेलकूदको विकासले मात्र अन्तर्राष्ट्रियरुपमा नेपालको परिचय र गौरव स्थापित हुन सक्ने भएकाले सरकारले खेलकूदको विकासमा ध्यान बढाउनुपर्नेमा जोड दिए।

उनले विद्यालय तहदेखि नै राष्ट्रिय प्रतिभाशाली खेलाडी उत्पादन गर्न सकिने उल्लेख गर्दै क्रिकेटमा जस्तै फूटबलमा पनि नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने बताए ।

तपाईको प्रतिक्रिया