माग पुरा भए पुग्छ, टेलीफोन वार्ता गर्न पर्दैन : अनसनरत डा.केसी


Share This


नेपालबहस संवाददाता    30 Views

जुम्ला । चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी ११ दिनदेखि आमरण अनशनमा रहेका डा.गोविन्द केसीले सरकार आफु संग वार्ता गर्न चाहे जुम्ला आउन आग्रह गरेका छन् ।

आफ्ना माग पुरा नभएसम्म अनसन जारी राख्ने बताउदै डा .केसीले आफूले उठाएका माग नागरिक र विद्यार्थीको पक्षमा भएकाले सरकारले सम्बोधन गरे पुग्ने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन वार्ता गर्ने भनेपछि, डा . केसी भन्छन्, टेलीफोनमा वार्ता हुदैन सरकारले वार्ता गर्न चाहे टोलीलाई जुम्ला पठाए हुन्छ । माग सम्बोधन गर्न वार्ता नै बस्नुपर्ने आवश्यक छैन,  माग पुरा भए पुग्छ । माग पुरा भए केसीले अनसन तत्काल तोड्ने बताएका छन् ।

डा.केसीको स्वास्थ्य जटिल बन्दै गएकाले उनी बोल्न नसक्ने अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको चाल बढ्नुका साथै रोगसँग लड्ने क्षमता कमजोर बन्दै गइरहेको छ ।

केसीलाई मांसपेशी सुन्निने, रिंगटा लाग्ने, छातीको बीच भागमा दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, मुटुको चाल तलमाथि हुने र पिसाब नहुनेजस्ता समस्या देखिएको छ । स्वास्थ्य जटिल बन्दै गए पनि उनले सामान्य ग्लुकोज र आवश्यक औषधि लिन मानेका छैनन् ।

यसैबिच, केसीको समर्थनमा जुम्ली महिलाले आन्दोलन सुरु गरेका छन् । उनीहरूले मंगलबार खलंगामा प्रदर्शनसमेत गरे । उनको समर्थन तथा सरकारलाई दबाब दिन र्‍याली निकालेको स्थानीय अगुवा माया रावलले बताइन् ।

१ घण्टा सेवा बन्द
यता नेपाल चिकित्सक संघले डा। गोविन्द केसीका मागहरूको समर्थन गर्दै बुधबारदेखि देशभरका सबै स्वास्थ्य संस्थामा बिहान दिनहुँ एक घण्टा काम नगर्ने निर्णय गरेको छ ।

सरकारले समस्या समाधानको पहल नगरे यो समय बढाउँदै लगेर इमर्जेन्सीबाहेकको सेवा बन्द गर्ने संघले चेतावनी दिएको छ । संघले केसीको जीवनरक्षाका लागि दबाब दिन बिहान १० देखि ११ बजेसम्म एक घण्टा काम नगर्ने निर्णय गरेको चिकित्सक संघका अध्यक्ष डा।मुक्तिराम श्रेष्ठले जनाए । विरोध कार्यक्रमको घोषणा सर्वसम्मतिमा गरिएको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया