कोलम्बियासँग फुटबल खेलिरहेको इंग्ल्याण्डलाई भारतले हरायो


Share This


नेपालबहस संवाददाता    50 Views

काठमाडौँ, २० असार । विश्वकप फुटबलको क्वाटरफाइनलका लागि कोलम्बियासँग खेलिरहेको इंग्ल्याण्डलाई भारतले हराएको छ ।

यो क्रिकेटको प्रसंग हो । फुटबल कोलम्बियासँग अतिरिक्त समयमा खेल धकेलिएका बेला इंग्ल्याण्डको क्रिकेट टोलीलाई भारतले ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।

टस हारेर पहिले व्याटिंग गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । उसका लागि जोश बटलरले सर्वाधिक ६९ र डेभिड विल्लीले २४ रन बनाए ।

इग्ंल्याण्डलाई सस्तैमा रोक्न भारतका कुलदिप यादव एक्लैले सर्वाधिक ५ विकेट लिए । ४ ओभर बलिंग गरेका उनले २४ रन दिएर ५ विकेट लिएका हुन । यसक्रममा उनले एलेक्स हेल्सदेखि सर्वाधिक रन बनाउने जोश बटलरसम्मलाई आउट गरे ।

त्यसमा पनि जोनी ब्रेश्चो र जोय रुटलाई भने शुन्य रनमै पेभेलिएन फर्काई दिएका थिए । यस्तै उमेश यादवले २ विकेट लिए ।

१ सय ६० रनको लक्ष्य लिएर जवाफी व्याटिंग थालेको भारतले १८ ओभर १ बलमै मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टायो । इंग्लिस टोलीलाई ८ विकेटको हार दिलाउन लोकेश राहुलले १ सय १ रनको विष्फोटक पारी खेले ।

५४ बल खेलेका उनले १० चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै रोहित शर्माले ३३ र कप्तान विराट कोहलीले २० रनको योगदान दिए ।

जितसँगै इंग्ल्याण्डसँगको तीन खेलको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंख्लामा भारतले १ शुन्यको अग्रता लिएको छ । आयरल्याण्डपछि इंग्ल्याण्ड पुगेको भारतले अरु तीन वटा एकदिवसीय र पाँच वटा टेस्ट क्रिकेट पनि खेल्नेछ ।

तपाईको प्रतिक्रिया