एकै परिवारका चार जनाको रहस्यमय मृत्यु, अनुसन्धानका लागि सिआइवी बनेपामा


Share This


नेपालबहस संवाददाता    202 Views

८ साउन, काभ्रे । बनेपा बसपार्कमा होटल व्यवसाय सञ्चालन गर्दै आएका एकै परिवारका चार जनाको मृत्युको घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले सो घटनाबारे सूक्ष्म ढंगले अनुसन्धान सुरु गरे पनि हत्या वा आत्महत्याबारे कुनै भेउ पाउन नसके पछि केन्द्रिय अनुसन्धान व्युरो सिआइवीको टोली बनेपा पुगेको छ । शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर सहित ब्यूरोका डिएसपी अरुण पौडेलको नेतृत्वमा ७ जनाको टोलीले अनुसन्धान थालेको छ ।

शुक्रबार राति ९ बजे एकै परिवारका चार जनाको शव होटल गौतमभित्र फेला परेको थियो । साविक टुकुचा नाला स्थायी घर भएर बनेपा बसपार्कमा गौतम होटल सञ्चालन गर्दै आएका ३२ वर्षीय राजाराम दाहाल, उनका ६५ वर्षीय बाबु हरिभक्त दाहाल, ६० वर्षीया आमा हरिमाया दाहाल र २५ वर्षीया बहिनी रञ्जना दाहालको शव फेला परेको हो । सो होटल बनेपा बसपार्कमा चल्तीकै होटल मानिन्छ ।

अघिपछि राति ९ बजेपछि मात्रै बन्द गरिने होटल शुक्रबार भने दिउँसो ३ बजेदेखि नै बन्द गरिएको थियो । होटलको सटर भित्रैबाट बन्द गरिएको थियो । दिउँसै होटल बन्द गरिनु, भित्रबाट बन्द गरिएको होटलमा कुनै चालचुल नदेखिनु, बन्द भए पनि सटर अगाडि कोकाकोलाको सिसी फुटेको देखेपछि शंका गरी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

दुवैतर्फको ढोकाभित्रैबाट बन्द गरिएको अवस्थामा प्रहरी सटर फोडेर भित्र पस्दा चारै जनालाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनराज राईले बताए । घटनास्थलबाट प्रहरीले सेलफस नामको विषको भाँडो फेला पारेको थियो । प्रहरीले शव परीक्षणपछि मात्रै आत्महत्या वा हत्याबारे जानकारी हुने भन्दै पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।

यो घटनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले पनि सूक्ष्म रूपमा अनुसन्धान थालेको छ । ब्युरो टोली शनिबार बिहानैदेखि अनुसन्धानमा जुटेको थियो । डीएसपी राईले सो घटना आत्महत्या वा हत्या के हो अनुसन्धान भइरहेको बताए ।

बनेपा नगरपालिका–८ मा नगरपालिकाले नै सञ्चालन गरेको सटर नम्बर ३१२ मा दाहाल परिवारले एक दशकदेखि गौतम भोजनालय सञ्चालन गरिरहेका थिए । सो होटलमा शुक्रबार साँझ मृतक राजाराम दाहालकी श्रीमतीहरू कमला दाहाल र पूजा दाहालका छोराहरूलाई सम्पत्तिमा बराबर हक दिने विषयमा छलफल भएको थियो ।

छलफलका लागि परिवारका प्रायः सबै सदस्य भेला भएका थिए । सम्पत्ति बाँडफाँटका विषयमा सल्लाह भएकै दिन उनीहरूको मृत्यु हुनुलाई प्रहरीले आश्चर्यका रूपमा लिएको छ । मृतक राजारामले जेठी श्रीमती सुत्केरी भएको समयमा कान्छी श्रीमती ल्याएका थिए । कान्छी श्रीमतीका एक छोरा छन् भने जेठीका एक छोरा र एक छोरी रहेका छन् ।

राजारामका दुई श्रीमतीबीच जग्गामा विवादसमेत रहेको थियो । गाउँको जग्गा जेठी र सहरको घर कान्छीलाई मिलाउने प्रयास राजारामले गरे पनि विवाद नमिलेको आफन्तले बताएका छन् ।

आर्थिक अवस्था सुधार्न भन्दै राजाराम केही वर्ष वैदेशिक रोजगारमा समेत गएका थिए । एकै परिवारका चार जनाको मृत्यु भएको र त्यसमा पनि विष सेवन गरेको जस्तो प्रकृति नदेखिएको भन्दै आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् ।

तपाईको प्रतिक्रिया