बाढीबाट झापामा १३ को ज्यान गयो, धनुषामा थप दुईको मृत्यु


Share This


नेपालबहस संवाददाता    140 Views

१ भदौ, काठमाडौं । झापामा हालै आएको बाढीका कारण अहिलेसम्ममा १३ जनाको ज्यान गएको र दुईजना बेपत्ता रहेका नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

प्राप्त जानकारीअनुसार बाढीबाट दुई हजार ५२४ परिवार प्रभावित र दुई हजार ४४४ परिवार विस्थापित तथा ५२१ परिवारका घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ ।

सोसाइटीका सभापति लोकराज ढकालले बाढीमा परेका ४४० परिवारका दुई हजार २०० व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरी विद्यालय, सामुदायिक भवनलगायतका सुरक्षित आश्रयस्थलमा राखेका छन् ।

बाढी पीडित परिवारमा नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाद्वारा त्रिपाल, कम्बल, एनएफआरआई फुलसेट, भाडा सेट, झुल, म्याट, हाइजिन कीट, एक्वा ट्यावलगायतका गैरखाद्य सामग्री प्रभावित एकहजार ८५० परिवारलाई आवश्यकताका आधारमा वितरण गरिएको छ भने नेपाल रेडक्रस, क्यारिटास नेपाल, साहारा नेपाल, एलडव्ल्युएफ, झापा अष्ट्रेलिया समाज, कोरियन नेपाली समाज, रोटरी क्लब, उद्योग वाणिज्य संघलगायतका संघ संस्थाद्वारा झापा जिल्लाका बाढी प्रभावित एकहजार ७६० परिवारलाई चामल, दाल, चिनी, नुन, तेल, चिउरा, न्यूटेला, आलुलगायतका खाद्य सामग्री वितरण गरिएको छ ।

धनुषामा थप दुईको ज्यान गयो

अविरल वर्षासँगै आएको बाढीका कारण धनुषामा थप दुईको मृत्यु भएको छ ।

धनुषाको पूर्वी क्षेत्रमा पर्ने कमला सिद्धिदात्री गाउँपालिकाको माची झिट्कैया–४ स्थित पर्सा टोलका ५० वर्षीय सुदीप साहको बुधबार मृत्यु भएको छ ।

साह गाई भैँसीका लागि घाँस काटेर फर्किदै गरेको अवस्थामा लडेर नहरमा खस्दा मृत्यु भएको स्थानीय सुजीतकुमार मण्डलले जनाएका छन् । नहरमा खसेका साह तीव्रगतिमा चलेको पानीको भेलले बगाएर लगेको अवस्थामा करिब एक किलोमिटर परबाट उद्धार गरिए पनि उनको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।

शहिदनगर नगरपालिका–२ चोरा कोयलपुरकी १४ वर्षीया रेखाकुमारी यादवको पनि बुधबार नै मृत्यु भएको छ । अविरल वर्षासँगै पानीको मुहान दूषित बनेपछि उनलाई पेट दुख्ने समस्या देखिएकाले तत्कालै उपचार नपाएर मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।

यादवलाई पेट दुख्ने, रिङ्गटा लाग्नेजस्ता समस्या देखिएकाले तत्काल प्राथमिक उपचार गरेर जनकपुर ल्याउन खोजिए पनि बाढीका कारण प्रायः सबै बाटो कटान गरेकाले समयमै उपचार पाउन नसकेर उनको मृत्यु भएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

यसैगरी लगातार रुपमा आएको बाढीले कमला सिद्धिदात्री गाउँपालिकाको माचि झिट्कैया शराबे टोलमा घर भत्किएर ढल्दा ५० वर्षीय बहुरा सहनी सख्त घाइते भएका छन् । उनलाई जनकपुर उपचारका लागि ल्याउन खोजिए पनि बाटो अवरुद्ध भएका कारण हाल भारत विहारको दरभंगामा उपचार भइरहेको परिवारजनलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

लगातारको वर्षाका कारण धनुषाका विभिन्न क्षेत्र अस्तव्यस्त भएका छन् ।

तपाईको प्रतिक्रिया