बर्दियाबाट गिद्ध लोपहुने अवस्थामा, एकसिङ्गे गैँडाको मृत्यु


Share This


नेपालबहस संवाददाता    147 Views

७ भदौ, काठमाडौं । आहारा, प्रजातिको कमी, बासस्थानको कमी तथा घरपालुवा पशुमा डाइक्लोफेनेक नामक औषधि प्रयोगका कारण बर्दियाबाट गिद्ध हराउन थालेका छन् ।

गाउँघरमा फालिएका सिनो खाएर नष्ट गर्दै वातावरण स्वच्छ पार्ने भएकाले गिद्धलाई प्रकृतिको कुचीकार पनि भनिन्छ । नेपालमा हाडफोर, सेतो गिद्ध, डंगर, सानोखैरो गिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध संकटापन्न अवस्थामा पाइन्छन् ।

केही दशकअघि बर्दियामा प्रशस्त मात्रामा पाइने गिद्ध हिजोआज फाट्फुट मात्र देखिने गरेका छन् । आहारा, प्रजातिको कमीलगायत गिद्धको बासस्थान मानिने ठूला सिमलका वृक्ष विनाश भएपछि गिद्धको संख्या जिल्लामा कमी भएको संरक्षणकर्मी बताउँछन् ।

नेपालमा नौ प्रजातिका गिद्ध पाइने नेपाल गिद्ध संरक्षण अभियानका सदस्य सचिव रामबहादुर शाहीले बताए । उनका अनुसार हाडफोर, सेतो गिद्ध, डंगर, सानोखैरो गिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध नेपालमा पाइन्छन् । डंगर गिद्ध, सानोखैरो गिद्ध, सुनगिद्ध, लामोठुँडे गिद्ध, अति संकटापन्न अवस्थामा रहेको उनले बताए।

त्यस्तै, सेतो गिद्ध, हिमाली गिद्ध पनि संकट उन्मुख छन् । डाइक्लोफेनेक नामक औषधि प्रयोगबाट मृत्यु भएका पशुलाई गिद्धले खाएपछि मिर्गौला फुटेर मर्ने तथा प्रजनन क्षमता ह्रास हुने हुँँदा गिद्ध लोप भएको वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ ।

नेपालमा प्रशस्त पाइने गिद्ध सन् २००६ मा एक हजार २०० जोडीमात्र भेटिएका थिए । अहिले नेपालका करिब ६४ जिल्लामा डाइक्लोफेनेक मुक्त घोषणा भइसकेपछि गिद्धको संख्या १२ हजारको हाराहारीमा पुगेको शाहीको भनाइ छ ।

बसाइँ सर्नेक्रममा बर्दियामा हिजोआज फाट्टफुट्ट मात्र गिद्ध देखिने गरेका छन् । प्रकृतिको कुचीकार मानिने गिद्ध संरक्षण गर्नुपर्छ भन्ने भावना समुदायमा जागृत नहुँदा समस्या परेको हो । पहिले पहिले बर्दियामा प्रशस्त गिद्ध देखिन्थे, उहाँले भन्नुभयो, “आहाराको कमी तथा बासस्थान विनाशका कारण हिजोआज कम देखिन थालेका छन् ।”

जनचेतनासँगै यसको संख्या वृद्धि गर्नुपर्नेमा उनले जोड दिए। चरा संरक्षणमा सरकार उदासीन भएकाले पनि समस्या चुुलिएको हो, उनले भने– डाइक्लोफेनेक मुक्त भएपछि औषधि बिक्री वितरण र प्रयोग गरेको पाइएमा तीन वर्ष कैद र रु २५ हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

दुर्लभ एकसिंगे गैँडाको मृत्यु

यसैवीच, बाढीले बगाएर घाइते भएको दुर्लभ एकसिंगे गैँडाको उपचारकै क्रममा आज अपराह्न मृत्यु भएको छ ।

बाढीले बगाएर पूर्वी चितवनको कुमरोज सामुदायिक वनमा ल्याइपु¥याइएको घाइते गैँडाको आज अपराह्न मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

उनका अनुसार अघिल्लो हप्ता चितवनको राप्ती नदीमा आएको बाढीले अन्दाजी १६, १७ वर्षको भाले गैँडालाई बगाएर कुमरोजस्थित चितवन राष्ट्रिय निकुञ्जको जनकपुर पोष्ट नजिकै ल्याएको थियो ।

बाढीका कारण गर्धन तथा खुट्टामा गम्भीर चोट लागेको उक्त गैँडाको पशु चिकित्सकको टोलीले उपचार गरिरहेको थियो ।

“हिजोसम्म घाँस खाँदै थियो आज अपराह्न एक्कासि म¥यो, पाठकले भने, भित्री अंगमा गम्भीर चोट लागेकाले उपचार सफल हुन सकेन ।”

समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले गैँडालाई बाढीले राप्ती नदीको स्परमा ठोक्याउँदै ल्याएकाले भित्री अंगमा गम्भीर चोट लाग्दा बचाउन नसकिएको बताए ।

उनले कुमरोजका स्थानीय र निकुञ्ज अधिकारीहरुको निगरानीमा गैँडाको उपचार चल्दै गर्दा आज दुःखद मृत्यु भएको बताए । बाढीले बगाएर गैँडा मरेको यो दोस्रो हो ।

यसअघि बाढी आएकै दिनको भोलिपल्ट निकुञ्जको पश्चिम क्षेत्रअन्तर्गत अमल्टारीमा एउटा गैँडाको मृत्यु भएको थियो ।

मृग प्रजातिका छ वटा जनावर पनि बाढीले मारेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार