दक्षिण एसियाकै अग्लो ह्यातुङ झरनामा आन्तरिक पर्यटकको घुँइचो, गाउँ पर्यटन प्रवर्धनमा नयाँ नेतृत्व


Share This


नेपालबहस संवाददाता    144 Views

१९ भदौ, काठमाडौं । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यातुङ झरना अहिले आन्तरिक पर्यटकको गन्तव्यस्थल बनेको छ ।

वर्षात्को समयमा झरनामा पानीको मात्रा बढेपछि स्थानीय पर्यटकलाई यसले थप आकर्षण गरेको हो ।

जिल्लाको फेदाप गाउँपालिकामा रहेको झरनाको प्राकृतिक वातावरणमा रमाउनेको भीड बढ्न थालेको छ । झरनाबाट झरेको पानीको छाँगामा रुज्न, खेल्न र हेर्न विभिन्न जिल्लाबाट दैनिक २०० बढी आन्तरिक पर्यटक आउने गरेको ह्यातुङ झरना एकता समाजका अध्यक्ष राम तिम्सिनाले बताए ।

प्राकृतिक झरनाले पर्यटकलाई आकर्षण गरे पनि झरना वरिपरि पर्यटकीय पूर्वाधार र संरचना निर्माण तथा पर्याप्त प्रवद्र्धनमा सम्बन्धित निकायले चासो दिएको छैन । ग्रामीण सडकको स्तरोन्नति नहुँदा झरनासम्म पुग्न आठराई र फेदाप गाउँपालिकाबाट पदैल यात्रा गर्नुपर्छ ।

छोटो समयमा तेह्रथुमका पर्यटकीय गन्तव्य पुग्न नसक्ने भएपनि झरनामा पुगेर पर्यटक आनन्द लिने गर्दछन् । उक्त झरनाको पूर्वाधार विकास, प्रचार र प्रवद्र्धन गर्नसके थप पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् ।

तेह्रथुम सदरमुकाम म्याङ्लुङ र आठराई संक्रान्ती बजार प्रवेश गर्ने जो कोहीलाई पनि यो झरनाले आकर्षित गरेको छ । झरनामा तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, झापालगायत ठाउँबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटक आउने गर्दछन् ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्चमा नयाँ नेतृत्व
गाउँ पर्यटन प्रवद्र्धन मञ्च, प्रदेश नं ४ पोखराको तेस्रो वार्षिक साधारणसभा एवं दोस्रो अधिवेशनले रवीन्द्रराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

आगामी दुईवर्षे कार्यकालका लागि निर्वाचित समितिको उपाध्यक्षमा चूडामणि दाहाल, सचिवमा रमेशबहादुर खत्री र कोषाध्यक्षमा सूर्यनाथ पहारी रहेका छन् ।

कार्य समितिको सदस्यमा सुशीला भण्डारी, अशोक पराजुली, कमलबहादुर झुजेल, भुपेन गुरुङ र सन्तोष सापकोटा निर्वाचित भए।

मञ्चका निर्वतमान अध्यक्ष तारानाथ पहारी पदेन सदस्य रहने समितिमा अर्को एक सदस्य मनोनित गरिनेछ ।

प्राकृतिक सुन्दरताले रमणीय नेपालका गाउँमा पर्यटन विकासको पर्याप्त सम्भावना भएको बताउँदै नवनिर्वाचित अध्यक्ष पौडेलले सम्भाव्य ठाउँको पहिचान, तिनीको प्रवद्र्धन एवं विकास तथा विस्तारका लागि नवनिर्वाचित कार्यसमिति क्रियाशील बन्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार