१८,२०० को उम्मेदवारी दर्ता, उमेद्दारहरु अझै लाइनमा


Share This


नेपालबहस संवाददाता    235 Views

२१ भदौ, काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य आज उत्साहजनक र शान्तिपूर्णरुपमा भएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला, दलितलगायत उम्मेदवारले उत्साहपूर्वक मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

साँझ ६ः३० बजेम्म तेस्रो चरणमा निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमा १८ हजार २०० को उम्मेदवारी परेको विवरण आयोगमा प्राप्त भएको प्रवक्ता ढकालले जानकारी दिए । मनोनयन दर्ताको विवरण आउने क्रम जारी नै रहेकाले यकिन संख्या आउन बाँकी छ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिए पनि उम्मेदवारको अत्यधिक सहभागिताका कारण अपराह्न ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनेको बाक्लो उपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ ।

कतिपय मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा साँझ अबेरसम्म पनि उम्मेदवारी दर्ता गर्नेहरुको लाम रहेको आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट जानकारी प्राप्त भएको थियो ।

मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समय ५ बजेभित्र प्रवेश गरिसकेका उम्मेदवारको उम्मेदवारी दर्ता कार्य साँझ अबेरसम्म पनि सञ्चालन हुने आयोगले जानकारी दिएको छ ।

यकिन विवरण आइनसकेकाले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा जस्तै यो निर्वाचनमा पनि व्यापक उम्मेदवारी परेको प्रारम्भिक अनुमान गरिएको छ । तेस्रो चरणको स्थानीय तह निर्वाचन एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा हुँदैछ । यो निर्वाचनबाट छ हजार ६२७ प्रतिनिधिहरु निर्वाचित हुनेछन् । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारलाई यही भदौ २४ गते निर्वाचन चिह्न प्रदान गरिनेछ ।

मुलुकका सात प्रदेशका ७७ जिल्लाका ७५३ मध्ये पहिलो चरणमा गत वैशाख ३१ गते २८३ तथा दोस्रो चरणमा ३३४ स्थानीय तहको निर्वाचन भइसकेको छ । स्थानीय सरकार गठनका लागि भइरहेको स्थानीय तहको निर्वाचन पूरा भएपछि संविधान कार्यान्वयनको एउटा खुड्किलो पार हुन्छ ।

वीरगञ्ज महानगरपालिकामा मुख्यतः कांग्रेस र राजपालाई मुख्य प्रतिस्पर्धी मानिएको छ । त्यहाँको मेयरमा कांग्रेसबाट अजय द्विवेदी र राजपाबाट राजेशमान सिंह उम्मेदवार छन् । त्यसैगरी एमालेबाट बसुरुद्दिन अन्सारी, संघीय समाजवादी फोरमबाट विजय सरावगी, माओवादी केन्द्रबाट अन्सारी र फोरम लोकतान्त्रिकबाट विमलप्रसाद श्रीवास्तवले महानगरको मेयरका लागि उम्मेदवारी दिएका छन् ।

स्वतन्त्र र साना दलबाट समेत गरी मेयरमा १८ जना र उपमेयर १३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगको कार्यालय पर्साले जनकारी दिएको छ ।

उता दुईवटा उपमहानगरपालिका रहेको बारा जिल्लाका विभिन्न स्थानीय तहका उम्मेदवारको मनोयनका लागि गाउँगाउँबाट कार्यकर्ता र समर्थकहरु उर्लिए । गाउँगाउँबाट बाजागाजासहित उमेदवारहरु समर्थकहरुका साथ बस, ट्रक, ट्याक्टर, अटो, मोटरसाईकल लगायतका साधनहरुमा उमेदवारी दर्ताका लागी निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भएको निर्वाचन कार्यलयले जनाएको छ ।

बारामा दुई उममहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका छन् । यी सबै स्थानीय तहबाट तेस्रो चरणको निर्वाचनका लागि सहभागी झण्डै तीन दर्जन दलका हजारौं उमेद्वारहरु मध्येबाट ८३५ जनप्रतिनिधीहरु विजय हुने भएका छन् ।

जनकपुर उपमहानगरपालिकामा पनि चुनावी सरगर्मी उत्साहजनक देखिएको छ । जनकपुरमा कांग्रेस, एमाले, माओवादी, राजपा, फोरम र स्वतन्त्रले समेत उम्मदेवारी दर्ता गराएका छन् । अन्य जिल्लामा जस्तै धनुषाको जनकपुरमा पनि बुधबार साँझसम्म उम्मेदवारी मनोनयन दर्ता जारी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार