आज हरिबोधिनी एकादशी : कालिगण्डकी र चार नारायणमा दर्शनार्थिको भिड


Share This


नेपालबहस संवाददाता    108 Views

१४ कात्तिक, काठमाडौँ । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध स्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महौषधि मानिन्छ ।

कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । ‘गरुडपुराण’मा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्छ ।

आजका दिन विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ” भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने वाल्मीकि विद्यापीठका सहप्राध्यापक श्रीराम सापकोटाले बताए । “यसका लागि चार महिनासम्म उपासना गरेर श्रद्धा भक्तिसाथ हरिबोधिनी एकादशीका दिनमा भगवान् विष्णुको विशेष पूजा गर्दा ११ वटै जाग्छन् भन्ने विश्वास छ”, उनले भने ।

किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । आजको ठूलो एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कात्तिक महिनामा विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ ।

आजका दिन काठमाडौँ उपत्यकाका चारनारायण (भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण तथा ललितपुरको विशङ्खुनारायण) स्थानमा विशेष मेला लागिरहेको छ । त्यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

‘जेठो नारायण’मा भक्तजनको भीड

आज चाँगुनारायण नगरपालिकास्थित चाँगुनारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । जेठो नारायण चाँगुनारायणमा आज बिहान ४ बजेदेखि दर्शनार्थीको भीड लागेको मन्दिरका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए । आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण र इचंगुनारायण र ललितपुरको विशंखुनारायणको दर्शंन गर्छन् ।

चार नारायणको दर्शन गर्दा पहिला चाँगुनारायणको दर्शन गर्नसके उत्तम हुने मान्यता रहेको चाँगुनारायण मेला व्यवस्थापन समितिले जनाएको छ ।

सहज दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट र प्रहरी परिचालन गरिएको छ । भूकम्पले क्षति पुगेको सो मन्दिर केही दिनअघि मात्रै पुनःनिर्माण भएसँगै मन्दिरमा लगाइएको टेको हटाइएको छ ।

चार वटै नारायणको दर्शन गर्र्न नसक्नेहरु पनि चाँगुनारायण मन्दिरका दर्शनका लागि भने आउने गर्छन् । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका विष्णु आजै जागा हुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रुपमा विशेष पूजार्चना गरेर मनाइने पूजारी राजोपाध्यायको भनाइ छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको मठलाई आज परम्परानुसार सिँगारेर पूजा गरी माला लगाई तुलसीको विष्णुसँग विवाह गराइन्छ । आजको दिन व्रत बस्ने र चामलको परिकार खान नहुने परम्परा भएकाले पिँडालु र सख्खरखण्डको परिकार खाने प्रचलन छ ।

देशभरका नारायण मन्दिरमा भक्तजनको भीड

आज बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।

असारदेखि कात्तिकसम्म तुलसीको विशेष पूजा गरिने भएकाले यो समयलाई चतुर्मास पनि भनिन्छ । यस समयमा चतुर्मास महात्म्यसमेत सुन्ने गरिन्छ । बूढानीलकण्ठमा आजदेखि कात्तिक शुक्लपूर्णिमासम्म लाग्ने विशेष मेला शुरु भएको छ ।

मेला सम्पन्न गर्न बूढानीलकण्ठ क्षेत्र विकास समितिको संयोजकत्वमा स्थानीय संघसंस्था सम्मिलित १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

समितिअन्तर्गत आठ उपसमिति बनाइएको अध्यक्ष जयराम थापाले जानकारी दिए। बूढानीलकण्ठमा आज विहान १ बजेदेखि नै पूजा एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । यस वर्ष सात लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

कालीगण्डकीमा भक्तजनको घुइँचो, मोदीवेणी दिव्यधाममा विशेष मेला

पर्वतका विभिन्न धार्मिकस्थलमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पवित्र कालीगण्डकी नदीमा स्नान गर्न हजारौँको संख्यामा भक्तजनको भीड लागेको हो । मोदीखोला र कालीगण्डकी नदीको संगममा पर्ने पर्वतको मोदीवेणी धाम, जैमिनी घाट, एशियाकै ठूलो शालिग्राम शिला रहेको दक्षिण पर्वतको शालिग्रामस्थित सेतीवेणीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

स्नान गर्नका लागि पर्वतका साथै बागलुङ, स्याङ्जा, गुल्मी, पाल्पा र भैरहवाबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन आएका छन् । उक्त स्थानमा मेलासमेत लागेको छ ।

कालीगण्डकीमा स्नान गरी भगवान् विष्णुको अवतार मानिने शालिग्रामको पूजा गरेमा पुण्य प्राप्त हुने विश्वासमा भक्तजन निराहार व्रत बसी स्नान गर्ने चलन छ ।

हरिशयनी एकादशीदेखि चौमास व्रत बसेकाहरुले पनि आज कालीगण्डकी नदीका विभिन्न स्थानमा तोरण टाँग्ने प्रचलन रहेको छ । कालीगण्डकीमा तोरण टाँग्नका लागि विभिन्न जिल्लाबाट बाजागाजा र भजनकीर्तनसहित हजारौँ दर्शनार्थीको भीड लागेको मोदीवेणीधाम व्यवस्थापन समितिका सदस्य युवनाथ रेग्मीले जानकारी दिए ।

यसैबीच, पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी दिव्यधाममा आज विशेष मेला लागेको छ । दिव्यधाममा रहेका १०८ तुलसीको विवाह गर्ने कालीगण्डकीको जलाभिषेक गर्ने कार्यक्रम रहेको दिव्यधाम व्यवस्थापन समितिका अध्यक्ष गोपालदाश बैरागीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार