पूर्वसांसद ढुंगेल पक्राउ


Share This


नेपालबहस संवाददाता    108 Views

पूर्वसांसद ढुंगेल पक्राउ

१४ कात्तिक, काठमाडौं । पूर्वसांसद एवं नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण ढुंगेललाई प्रहरीले आज पक्राउ गरेको छ ।

ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए । द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गरेको थियो । फैसलापछि ढुंगेल लामो समय फरार थिए । अदालतको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए ।

उनी केही दिनपहिले नयाँ बानेश्वरमा ओखलढुंगाको टिकट वितरणमा एमाले नेतासँग देखिएका थिए । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले हत्या अभियोगमा दोषी ठहर भएका ढुंगेलले सार्वजनिक अभिनन्दन लिँदै हिँडेको र अदालतको फैसलालाई चुनौती दिएको भन्दै उनलाई एक साताभित्र पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो।

‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई सात दिनभित्र पक्राउ गरी जानकारी गराउनू,’ प्रहरी महानिरीक्षकका नाममा जारी भएको आदेशमा भनिएको थियो।

सर्वोच्चले मिति तोकेरै ढुंगेललाई पक्राउ गर्न आदेश दिएकाले कार्यान्वयन हुन सकेको थिएन। पछिल्लोपटक २०७३ फागुन ३० गते ढुंगेललाई गृहजिल्ला ओखलढुंगामा क्रियाशील माओवादी सम्बद्ध दलले नागरिक अभिनन्दन गरेका थिए। नयाँ शक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीले संयुक्त रुपमा ढुंगेललाई अभिनन्दन गरेका थिए।

२०६१ मा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार