दक्षता परियोजना कार्यक्रम शुरु, आवेदकलाई १० लाख युरोसम्म अनुदान


Share This


नेपालबहस संवाददाता    328 Views

२३ कात्तिक, काठमाडौं । युरोपियन युनियनको आर्थिक सहयोगमा ब्रिटिस काउन्सिलले सञ्चालन गरेको दक्षता परियोजना क्षेत्रीय अनुदान कार्यक्रम शुरु भएको छ ।

सरोकारवालाहरुलाई अनुदानका उद्देश्य, प्रक्रिया, मापदण्ड र योग्यताका बारेमा जानकारी दिन सम्भावित आवेदकलाई प्रारम्भिक आवेदनको ढाँचा र आवेदन पेश गर्नेसम्बन्धी निर्देशिका सम्बन्धमा बुधबार जानकारी गराएकोे हो ।

पोखरा उद्योग वाणिज्य संघको संयोजनमा भएको सो कार्यक्रममा युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित दक्षता–टिभिइटी प्राक्टिकल पार्टनरसीप परियोजनाले कृषि, निर्माण तथा पर्यटन क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि अनुदानको प्रक्रिया अगाडि बढाएको हो ।

मानव पूँजीमा लगानी गर्दै रोजगारीको अवसर सिर्जना गरी विकासमा सघाउनु परियोजनाको उद्देश्य रहेको छ । परियोजनाअन्तर्गत नेपालका विभिन्न क्षेत्रको दक्षता अभिवृद्धिका लागि आवेदकमध्ये छानिएकालाई बढीमा १० लाख युरोसम्म अनुदान दिनेछ । अनुदानको लागि आवेदन फाराम खुल्ला भएको र चालु अंग्रेजी वर्षको डिसेम्बर ६ सम्म आफ्नो अवधारणा इमेलमार्फत बुझाउन सकिने ब्रिटिस काउन्सिलले जनाएको छ ।

अनुदान रकम प्राविधिक, व्यावसायिक शिक्षा तथा प्रशिक्षण क्षेत्र सुधारको क्षेत्रमा लगानी हुने ब्रिटिस काउन्सिलले जनाएको छ । क्षेत्रीय अनुदान कार्यक्रमको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले अनुदान कार्यक्रमले कामको खोेजीमा विदेशिनेलाई स्वदेशमै रोजगारी दिने आशा व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बजारको आवश्यकताअनुसारको तालीमले रोजगारी र आर्थिक सम्वृद्धि प्राप्त हुने बताए ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, पोखराका निमित्त प्रमुख जीवन भण्डारी, संघका महासचिव दामु अधिकारी, ब्रिटिस काउन्सिलकी सञ्चार प्रबन्धक रेसु कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार