प्रदेश नं.२मा लोकतान्त्रिक गठबन्धन बलियो बन्दै, नुवाकोटमा काँग्रेस उमेद्वारलाई लक्षित गरी बम विस्फोट


Share This


नेपालबहस संवाददाता    115 Views

१ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रदेश नं २ मा नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच सहमति कायम हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुई नं प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई विजयी गराउने सम्बन्धमा तिनै पार्टीबीच छलफल भइरहेको र चाँडै सहमति कायम हुने विश्वास व्यक्त गरे ।

उपप्रधानमन्त्री गच्छदारले मुलुकका अन्य अन्य प्रदेशमा समेत लोकतान्त्रिक शक्तिलाई विजयी गराउन स्थानीयस्तरमा वार्ता एवं छलफल भइरहेकाले केही दिनमा सहमति हुने जानकारी दिए ।

एक प्रश्नको जवाफमा उनले सरकारले सुरक्षाको सम्पूर्ण संयन्त्र प्रयोग गरी उम्मेदवालाई शान्तिपूर्ण वातावरणमा निर्वाचनमा प्रचारप्रसारको व्यवस्था मिलाइएको जानकारी दिए।

उपप्रधानमन्त्री गच्छदारले आगामी निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न र जनताले निर्धक्क रुपले मतदान गर्ने व्यवस्था मिलाउन वर्तमान सरकार कटिबद्ध रहेको बताउँदै आर्थिक संमृद्धि र पछाडि परेका जनताको हकअधिकार दिलाउन जनताले लोकतान्त्रिक गठबन्धनलाई बहुमतको सरकार निर्माण गर्न मत दिने विश्वास व्यक्त गरे ।

काँग्रेस उम्मेदवार महतलाई लक्षित गर्दै बम विस्फोट
आज नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट भएको छ । विस्फोटनबाट पाँचजना काँग्रेस कार्यकर्ता घाइते भएपनि उम्मेदवार महतद्वय भने सकुशल रहेका छन् ।

चुनावी प्रचार अभियानका क्रममा मतदाताको घरदैलो कार्यक्रम भइरहेका बेलामा ककनी गाउँपालिका वडा नं ५ काउलेथानामा बिहान १० बजे प्रेसरकुकुर बम विस्फोट गराइएको प्रदेशसभाका उम्मेदवार रमेशकुमार महतले जानकारी दिए ।

बम विस्फोटनबाट काँग्रेसका कार्यकर्ताहरू उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सवीन लामा, रमेश राईलगायत घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेकाले घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

उम्मेदवार महतद्वय चढेको बा१४च ७०४१ नंं को गाडीलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराए पनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा१६च ६६५ नं गाडीमा बम लागेको थियो । विस्फोटनका कारण गाडी पूर्णरूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । बम विस्फोटनको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार