सरकारको सुरक्षा व्यवस्था फितलो, देशभरि नै आतंक सिर्जना


Share This


नेपालबहस संवाददाता    110 Views

२ मंसिर, काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–३ मा चारजनाको अपरिचित समूहले मतदाता शिक्षा सामग्री लुटेर नष्ट गरेको छ ।

शनिबार दिउँसो मतदाता शिक्षाका लागि खटिएका महिला कर्मचारीको साथबाट उनीहरुले नमुना मतपत्रसहितका प्रचार सामग्री लुटेका हुन् । स्थानीय याङम्याङको जंगलमा घेरा हाली सामग्री जबर्जस्ती खोसेर च्यातेको मतदाता शिक्षा कार्यकर्ता निरमाया शाहीले बताए ।

वडा नं ३ को प्रभा मावि मतदान केन्द्रका निरमाया शाही, सुमित्रा शाही र वडा नं ४ जन मावि, झिम्पा मतदान केन्द्रका राधिका शर्मा र सुमित्रा पौडेलको साथबाट सामग्री लुटिएको हो ।

मतदाता शिक्षाका सामग्री लुट्ने व्यक्तिले आफूहरु चुनाव विरोधी शक्ति ‘विप्लब’ समूहका भएको बताएका थिए । आगामी दिनमा मतदाता शिक्षा कार्यक्रम चलाएमा कारबाही गर्ने चेतावनी दिएको मतदाता शिक्षा कार्यकर्ता शाहीले बताए ।

मतदाता शिक्षा सामग्री खोसेर च्यातेपछि उनीहरु भागेका थिए । घटना लगत्तै प्रहरी चौकी झिवाखोलाको टोली त्यसक्षेत्रमा खटिएको जानकारी दिइएको छ ।

प्रहरी र बम राख्ने समूहबीच भिडन्त

भोजपुर षडानन्द नगरपालिकामा राखिछाडिएको बम हटाउने क्रममा आज प्रहरीको अज्ञात समूहसँग भिडन्त भएको छ ।

षडानन्द नगरपालिका–१३ बोयाको भिरथाप्लो भन्ने ठाउँमा राखिएको टाइमबम हटाउने क्रममा आज अपराह्न प्रहरी र अज्ञात समूहबीच भिडन्त भएको हो ।

टाइमबम राखिएको हल्ला चलेपछि त्यसलाई हटाउन गएका प्रहरी र उक्त समूहबीच गोली हानाहान भएको हो । सो बम पड्किँदा छर्रा लागेर तीनजना घाइते भएका छन् । घाइते हुनेमा नेकपा (एमाले)का कार्यकर्ता विक्रम राई, प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरीजवान देवनारायण चौधरी छन् ।

बम हटाउने क्रममा पड्किएपछि भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिए ।

यसैबीच, आजै भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाको कुलुङमा वाम गठबन्धनको कार्यक्रम भइरहेको स्थानमा पनि बम पड्किएको छ ।

वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन किराती र प्रदेश (क) का उम्मेदवार राजेन्द्रकुमार राईको चुनावीसभा स्थल नजिकै बम पड्किएपछि सभा तितरबितर भएको थियो । विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

चन्द्रनिगाहपुरमा बम विष्फोटमा आठ घाइते

रौटहटको चन्द्रनिगाहपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिर नजिकै आज अपराह्न बम विस्फोट हुँदा आठजना घाइते भएका छन् ।

राधाकृष्ण मन्दिरको हलमा वाम गठबन्धनको ५ नं वडा भेलाबाट सहभागी बाहिरिने क्रममा अज्ञात समूहले राखेको बम विस्फोट भएको हो ।

विष्फोटमा परी स्थानीय ३१ वर्षीया सीता राई, सात वर्षीय जैविक राई, ४५ वर्षीया लक्ष्मी साह, ५४ वर्षीय रत्नबहादुर विक, ४८ वर्षीय कुन्ता खत्री, ३९ वर्षीय गोपाल विक, ४५ वर्षीय दिलमाया राई र ५० वर्षीय यमुना काफ्ले घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये यमुना र गोपालको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा रहेका अन्य घाइतेलाई थप उपचारका लागि चितवन पठाइएको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरले जनाएको छ । घाइतेको शरीरको विभिन्न भागमा चोट लागेकोे छ ।

वाम गठबन्धनको वडा भेलामा नेकपा ९माओवादी केन्द्र० र नेकपा (एमाले) का केन्द्रीय नेता कल्याणी खडका र युवराज भट्टराईको उपस्थिति थियो ।

वाम नेता भट्टराईले चुनावी विषयमा भेला बसिरहेको क्रममा एकसाथ विस्फोटको आवाज सुनिएको बताए । हालसम्म विस्फोटको जिम्मा कसैले पनि लिएको छैन ।

जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले बम विस्फोटमा संलग्नको खोजी भइरहेको बताए ।

काँग्रेस वरिष्ठ नेता पौडेललाई लक्षित गरी बम प्रहार

लमजुङमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी उनी चढेको जिपमा आज बम प्रहार भएको छ ।

तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका– १० स्थित नेपालडाँडामा नेता पौडेल सवार बा१३च ३७४२ नं को जिपमा बम प्रहार भएको हो ।

बम प्रहारबाट एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । बम प्रहारबाट पौडेल चढेको जिपको सिसा फुटेको छ । वरिष्ठ नेता पौडेल लमजुङ सदरमुकाम बेँसिशहरमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न जाँदै थिए ।

नेता पौडेलमाथि भएको आक्रमणको भत्र्सना

नेपाली काँग्रेसले नेकाका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्ष्य गरी कुकरबम प्रहार गरिएको घटनाको भत्र्सना गर्दै घटनामा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनको तनहुँ क्षेत्र १ का उम्मेदवारसमेत रहेका नेता पौडल र उनका साथमा रहेका नेकाका कार्यकर्तालाई लक्ष्य गरी आज दिउँसो तनहुँको भानु नगरपालिका वडा नं १० स्थित नेपालडाँडा नजिक अज्ञात समूहले प्रेसर कुकरबम प्रहार गरेका थिए । गोरखाको पालुङटारमा लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न जाने क्रममा नेता पौडल सवार गाडीमाथि बम प्रहार भएको थियो ।

सो बम प्रहारबाट उहाँका सुरक्षाकर्मी घाइते भएका थिए । नेका केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडलद्वारा आज जारी विज्ञप्तिमा लोकतन्त्रलाई नै समाप्त गर्ने आपराधिक मानसिकताबाट सुनियोजित रुपमा यसप्रकारका घटना घटिरहनु अत्यन्त दुःखद भएको जनाइएको छ ।

विज्ञप्तिमा यस प्रकारका घटनाबाट नेपालको जेठो पार्टी नेका विचलित नहुने उल्लेख छ । लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको उल्लेख गर्दै नेकाले यसप्रकारका घटना दोहोरिन नदिन सरकारसँग माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार