३२ जिल्लामा शान्तिपूर्ण मतदान जारी


Share This


नेपालबहस संवाददाता    83 Views

१० मंसिर, काठमाडौं । निवर्तमान सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिका–७ मा रहेको बाल उदय मावि माडीचौर केन्द्रबाट बिहान ७ः२० बजे मतदान गरेकी छिन् ।

सोही मतदान केन्द्रबाट पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पनि मतदान गरेका छन् । संमृद्ध नेपाल निर्माणका लागि हुन लागेको निर्वाचनमा मतदान गर्न पाउँदा आफूलाई निकै खुशी लागेको पुनले संक्षिप्त प्रतिक्रिया दिए । रोल्पा नगरपालिका–१ तारा मावि वामरुक मतदानमा नामावली रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने मतदानमा उपस्थित भएका छैनन् । चुनावी प्रचार प्रसारका क्रममा दाङमा रहेका कारण महरा मतदानमा उपस्थित नभएको बताइएको छ ।

मतदातालाई भयमुक्त ढंगले मतदानको वातावरण बनाइएको सुरक्षाकर्मीले बताएका छन् । जिल्लाका अधिकांश स्थानमा मतदान शान्तिपूर्ण ढंगले भइरहेको सुरक्षा स्रोतले बताएको छ ।

११२ वर्षका भण्डारीद्वारा मतदान

म्याग्दीमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । एक नगरपालिकासहित ६ स्थानीय तहका ४५ वटै वडामा निर्वाचन गराउनका लागि म्याग्दीका १०६ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ ।

रघुगंगा गाउँपालिका–३ ज्ञानोदय मावि मतदान केन्द्रमा ११२ वर्षका खड्कबहादुर भण्डारीले मतदान गरेका छन् । जिल्लामा मतदाताले उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन् ।

म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता रहेका छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना चुनावी मैदानमा उत्रिए पनि वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

दार्चुलामा मतदान शुरु

दार्चुलामा पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शुरु भएको छ । जिल्लाका १२९ मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लाभरिमा दुई हजार ११५ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । विकसित घटनाक्रमलाई आधार मानेर सबै मतदान केन्द्रमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

जिल्लाभरिका ७८ हजार ५१३ मतदाताले यो निर्वाचनमा सहभागिता जनाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । महाकाली नगरपालिका–५ को अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको मतदान क केन्द्रमा ८४ वर्षीय दिलानन्द बडूले पहिलो मतदान गरेको मतदान अधिकृत डा अम्बिका पोख्रेलले बताए ।

मनाङ र मुस्ताङमा मतदान प्रकृया शुरु

दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा आज बिहानैदेखि मतदान प्रकृया शुरु भएको छ ।

चिसोको बाबजुद बिहानैदेखि लामबद्ध भएर मनाङका २८ वटै मतदान केन्द्रमा मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । अधिराज्यकै सबैभन्दा कम मतदाता भएको मनाङमा पाँच हजार ८८१ मतदाता रहेका छन् । मतदानका लागि २०५ जना कर्मचारी खटिएका छन् ।

निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (एमाले) र स्वतन्त्र गरी प्रतिनिधिसभा एक र प्रदेशसभा दुई क्षेत्रमा ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै मुस्ताङका ३७ वटै मतदान केन्द्रमा पनि बिहानैदेखि मतदान प्रकृया शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सीताराम शर्मा लामिछानेले जानकारी दिए । निर्वाचनका लागि २६१ जना कर्मचारी खटिएका छन् । नौ हजार ४२७ मतदाता रहेको मुस्ताङमा प्रतिनिधिसभा एक र प्रदेशसभा दुई निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपा र राप्रपा (प्रजातान्त्रिक) का गरी आठजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार