मतदाताका लागि राजधानी नै असुरक्षित, १४१ मतदानस्थल संवेदनशील सूचीमा


Share This


नेपालबहस संवाददाता    135 Views

१६ मंसिर, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभाको २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचन सुरक्षाका दृष्टिले काठमाडौंका १ सय ४१ मतदानस्थललाई निर्वाचन आयोग र सुरक्षा संयन्त्रले संवेदनशील सूचीमा राखेको छ ।

काठमाडौंका ३ सय २० मतदानस्थलमध्ये संवेदनशील मानिएका १ सय ४१ मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको निर्वाचन आयोग र काठमाडौं जिल्ला सुरक्षा समितिले जनाएका छन् ।

काठमाडौंका ३ सय २० मतदानस्थलमा ७ सय ३१ मतदान केन्द्र छन् । जसमा १ सय ४१ मतदानस्थल संवेदनशील र १ सय ७९ मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी सुरक्षा चुनौती गोकर्णेश्वर नगरपालिका, कागेश्वरी नगरपालिका र तारकेश्वर नगरपालिकामा रहेको जिल्ला प्रशासन कार्यालयको निष्कर्ष छ ।

काठमाडौं जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सुरक्षा निकायसँग समन्वय गरेर संवेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाउने बताएका छन् । सामान्य मानिएको मतदानस्थलभन्दा संवेदनशील मानिएको मतदानस्थलमा सुरक्षा सशक्त हुने उनले बताए ।

‘सुरक्षा निकायसँग समन्वय गर्दै हरेक मतदानस्थलमा सुरक्षा व्यवस्था मिलाउनुका साथै संवेदनशील मानिएको मतदानस्थलमा सुरक्षा व्यवस्था थप सशक्त बनाउँछौं,’ शर्माले भने, ‘अरू मतदानस्थलभन्दा संवेदनशील मानिएको मतदानस्थलमा सुरक्षाकर्मीको परिचालन संख्यात्मक हिसाबमा बढी हुनेछ ।’ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, निर्वाचन आयोगलगायत सरोकारवालासँग समन्वय गरेर सुरक्षा व्यवस्था सशक्त बनाउने पहल भएको उनले बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, स्वच्छ एवं मर्यादित बनाउन काठमाडौं सुरक्षा परिषद्ले विशेष पहल सुरु गरिसकेको शर्माले बताए ।

सबैभन्दा बढी सुरक्षा चुनौती गोकर्णेश्वर नगरपालिका, कागेश्वरी नगरपालिका र तारकेश्वर नगरपालिकामा रहेको जिल्ला प्रशासन कार्यालयको निष्कर्ष छ

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता ललितकुमार बस्नेतले संवेदनशील मानिएको मतदानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी व्यापक रूपमा परिचालन गरिने बताए ।
काठमाडौंका मतदातालाई शान्तिपूर्ण वातावरणमा मतदान गर्ने, राजनीतिक दल तथा उम्मेदवारले भयरहित वातावरणमा चुनावी कार्यक्रम गर्न प्रशासनबाट गर्नुपर्ने हरेक किसिमको सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।
सुरक्षाका हिसाबले चिन्ता लिनु नपर्ने बताउँदै बस्नेतले हरेक मतदानस्थल एवं मतदान केन्द्रमा मोबाइल गस्ती पनि गरिने भएकाले मतदाताले शान्तिपूर्ण वातावरणमा मतदान गर्न सक्ने बताए । काठमाडौंमा १० निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित १० नगरपालिकामा ६ लाख ३ हजार ४ सय ६० मतदाता छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार काठमाडौं महानगरपालिकामा १ सय ५६ मतदानस्थल छन् । जसमा १ सय ५ मतदानस्थल सामान्य र ५१ मतदानस्थल संवेदनशील छन् । कीर्तिपुर नगरपालिकामा २० मतदानस्थल रहेका छन् । यहाँ १३ मतदानस्थल सामान्य र सात मतदानस्थल संवेदनशील छन् । दक्षिणकाली नगरपालिकामा १५ मतदानस्थल रहेकोमा ९ मतदानस्थल सामान्य र ६ मतदानस्थल संवेदनशील रहेको आजको राजधानी दैनिकमा समाचार छ ।
आयोगका अनुसार १३ मतदानस्थल रहेको कागेश्वरी मनोहरा नगरपालिकामा २ मतदानस्थल सामान्य र ११ मतदानस्थल संवेदनशील छन् । यसैगरी, १४ मतदानस्थल रहेको शंखरापुर नगरपालिकामा आठ सामान्य र ६ वटा संवेदनशील छन् । गोकर्णेश्वर नगरपालिकामा १७ मतदानस्थल रहेका छन् । जसमा १ सामान्य र १६ मतदानस्थल संवेदनशील छन् । यसैगरी, १९ मतदानस्थल रहेको बूढानीलकण्ठमा ११ मतदानस्थल सामान्य र ८ मतदानस्थल संवेदनशील रहेको काठमाडौं प्रशासनले जनाएको छ ।

यसैगरी, टोखा नगरपालिकामा १५ मतदानस्थल छन् । यहाँ ९ सामान्य र ६ मतदानस्थल संवेदनशील छन् । तारकेश्वर नगरपालिकामा १४ मतदानस्थल रहेकोमा २ मतदानस्थल सामान्य र १२ मतदानस्थल संवेदनशील रहेको उसको भनाइ छ ।

नागार्जुन नगरपालिकामा १५ मतदानस्थल छन् । ९ मतदानस्थल सामान्य र ६ मतदानस्थल संवेदनशील रहेका छन् । यस्तै, चन्द्रागिरि नगरपालिकामा २२ मतदानस्थल रहेकोमा १० मतदानस्थल सामान्य र १२ मतदानस्थल संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रवक्ता बस्नेतका अनुसार काठमाडौं–१ मा ४२ हजार ४ सय ३० मतदाता र ५१ मतदान केन्द्र तोकिएको छ । २ मा ७४ हजार ७ सय ५६ मतदाता रहेकामा ९१ मतदान केन्द्र तोकिएको छ । ३ मा ५३ हजार ८ सय २४ मतदाता छन् । यहाँ ६६ मतदान केन्द्र तोकिएको छ ।

यसैगरी, काठमाडौ–४ मा ६३ हजार २ सय १५ मतदाता र ७४ मतदान केन्द्र तोकिएको छ । यस्तै, काठमाडौं ५ मा ६४ हजार ५ सय ५० मतादाता र ७६ मतदान केन्द्र तोकिएको छ । ६ मा ५८ हजार १ सय ८७ मतदाता रहेकोमा ७२ मतदान केन्द्र छन् ।
काठमाडौं–७ मा ५७ हजार ५ सय ५८ मतदाता र ६८ मतदान केन्द्र छन् । यस्तै, ८ मा ५० हजार ८८ मतदाता रहेकोमा यहाँ ६० मतदान केन्द्र छन् । काठमाडौं–९ मा ६७ हजार ६ सय ५१ मतदाता र ८१ मतदान केन्द्र तोकिएको छ । काठमाडौं–१० मा ७१ हजार २ सय १ मतदाता रहेकोमा यहाँ ९२ वटा मतदान केन्द्र तोकिएको छ । सबैभन्दा बढी मतदान केन्द्र काठमाडौं–१० र २ मा तथा सबैभन्दा थोरै मतदान केन्द्र काठमाडौं–१ र ८ मा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार