मेचीबाट प्रतिनिधिसभामा पवित्रा, प्रदेश नं ७ की एक्ली महिला सांसद बीना, के–कस्तो थियो त व्यक्तिगत पृष्ठभूमी ?


Share This


नेपालबहस संवाददाता    201 Views

२७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) की पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छिन् ।

मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उनी निर्वाचित भएकी थिइन् । यो सँगै उनले नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यात्रा तय गरेकी छिन् ।

प्रतिनिधिसभाको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी थापालाई १३ हजार ७६७ मतले पराजित गर्दै उनी निर्वाचित भएकी हुन् । उनले ४५ हजार ८१७ मत प्राप्त गरे भने थापाले ३२ हजार ५० मत प्राप्त गरेका थिए ।

एमालेको १ नं प्रदेश सदस्यको जिम्मेवारीमा रहेकी पवित्रा तीन दशकयता झापामा रहेर सक्रिय राजनीति गरिरहेकी छिन् । निरंकुश राज्य सत्ताको दवदवामा आफूलाई जोगाउनसमेत हम्मेहम्मे परेका बेला पनि राजनीतिमा उनी उत्तिकै सक्रिय रहेकी थिइन् ।

विसं २०३६ मा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षबाट प्रारम्भ भएको पवित्राको राजनीतिक यात्रा यतिबेला प्रतिनिधिसभा सदस्यमा पुगेको छ । २०३६ सालमा स्वतन्त्र विद्यार्थी युनियनमा रहँदा विद्यार्थी युवा दस्ताको एउटा दरिलो सिपाही पवित्राको फराकिलो आत्मविश्वास र दृढताले राजनीतिक यात्रामा कुनै न कुनै जिम्मेवारी पदमा रहिरहिन् ।

विसं २०३८ मा अखिल नेपाल महिला संघको गाउँ समिति सदस्य हुँदै उनको राजनीतिक यात्राले गति लियो । २०४० सालमा अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा दमकमा आयोजित समीक्षा बैठकस्थलबाटै उहाँ पक्राउ परेपछि तीन वर्ष जेल परेकी थियन् ।

विसं २०५४ मा जिल्ला विकास समिति झापाको मनोनीत सदस्य भएर उनले काम गरिसकेकी छिन् । बिर्तामोड खानेपानी तथा सरसफाइ समितिमा पवित्राले १० वर्ष बसेर काम गरिसकेकी छिन् ।

विसं २०६६ मा एमालेको जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हालेकी पवित्रा निरन्तर पार्टीमा क्रियाशील थिइन् । त्यसयता उनले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बनेर काम गरेकी छिन् भने अनेम संघको केन्द्रीय सदस्य भएर भूमिका निर्वाह गरिसकेकी छिन् ।

संविधानसभाको दोस्रो निर्वाचनमा यसै क्षेत्रबाट उनी नेपाली काँग्रेसको उम्मेदवारसँग पराजित भएकी थिइन् । काँग्रेसका उम्मेदवार सुधीरकुमार शिवाकोटीले उनलाई थोरै मतान्तरले त्यो बेला पराजित गरेका थिए ।

छविलाल र खड्गमाया निरौलाकी छोरी पवित्राको जन्म २०२० माघ २० गते झापाको दमकमा भएको हो । उनले आइएसम्मको अध्ययन गरेकी छिन् ।

बीना बनिन् प्रदेश नं ७ की एक्ली महिला सांसद

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की विजयी उम्मेदवार बीना मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छिन् ।

कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिस्पर्धामा रहनुभएकी आरजु राणा देउवा र कैलालीकै निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह पराजित हुँदा बीनामात्रै चुनावमा भारी मतको अन्तरका साथ विजयी भइन् ।

दशवर्षे जनयुद्धका क्रममा २७ महिने नारकीय हिरासत जीवन बिताएकी थिइन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)को उम्मेदवार भई ३८ हजार ४६८ मत ल्याई मगर विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत ल्याएका छन् । विष्टलाई मगरले १९ हजार २४९ मतको फराकिलो अन्तरले पराजित गरीन् ।

विजयी उम्मेदवार मगरले जन्मभूमिको सेवामा सधैँ समर्पित हुने बताएकी छिन् । विजयी भएपछि प्रतिक्रया दिँदै उनले निरन्तर जनसम्पर्क स्थापित गर्न तथा गुनासो र समस्याको समाधानका लागि स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने घोषणा गरेकी छिन् ।

निर्वाचन प्रचारका क्रममा सार्वजनिक गरेको प्रतिबद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर क्षेत्रको विकासमा लाग्न वाम गठबन्धनका उम्मेदवार एकमत रहेका छौँ, उनले भनिन्, “यसमा सबैको साथ र सहयोगको आवश्यकता पर्छ ।”

स्थानीय तह, प्रदेश र केन्द्र गरी तीनवटै तहबीच आवश्यक समन्वय गरेर विकासको सपनालाई मूर्तरुप दिनुपर्नेमा आफू दृढ रहेको उल्लेख गर्दै उनले संसद् र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने बताइन् ।

मानसिकरुपमा जटिल परिस्थिति र स्वास्थ्य अवस्था अनुकूल नभएका बेला मतदाताबाट पाएको साथ जीवनभर नबिर्सिने उनले उल्लेख गरीन् । विसं २०४० मंसिर २२ गते पुनर्वास नगरपालिकामा जन्मिएकी मगर यस क्षेत्रको समाज, संस्कृति, परम्परा, जातजाति, वेषभूषा र चाडपर्वसँग रमाउँदै हुर्किएकी हुन् ।

पुनर्वासको अरनिको बस्तीको अरनिको प्राविबाट शिक्षा आर्जन शुरु गरेकी उनले गौरीशंकर निम्न मावि र जनता मावि पुनर्वासबाट माध्यमिक तहसम्मको शिक्षा आर्जन गरेकी छिन् ।

राज्यको विभेदकारी नीतिलाई फेर्ने उद्देश्य लिएर मगरले विसं २०५१ सालमा ११ वर्षको कलिलै उमेरदेखि तत्कालीन नेकपा (माओवादी)को सशस्त्र आन्दोलनमा सक्रिय सहभागिता जनाएकी थिइन् ।

जनयुद्धको शुरुवाती चरणको सांगठनिक र सांस्कृतिक कार्यक्रममा उनले सक्रियता बढाउँदै राजनीतिक नेतृत्व लिन शुरु गरिन् । आन्दोलनमा सहभागिता जनाउँदै गर्दा विसं २०५६ मा मगरले महिलाको हकअधिकार प्राप्तिका साथै सांगठनिक र वैचारिक अवस्था विकास गराउन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको अध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् ।

राजनीतिक यात्रासँगै उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडौँ आएकी थिइन् । काठमाडौँमा उनलाई राजधानीकोे वातावरण, रहनसहन, समाज र राजनीतिक शासन व्यवस्थाबारे नजिकबाट अध्ययन गर्ने अवसर मिल्यो । राजधानी काठमाडौँ र जन्मभूमि पुनर्वासलगायत आसपासका क्षेत्रको विकासको अवस्था तुलना गर्दा राज्यले गरेको विभेद प्रत्यक्ष देख्न पाइन्।

गाउँगाउँमा विकास पु¥याउन र एकात्मक शासन सत्ताको अन्त्यका लागि संघर्ष नै मुख्य बाटो देखेर मगरले सशस्त्र संघर्षको यात्रालाई अगाडि बढाएकी थिइन् । काठमाडौँमा पनि तत्कालीन अखिल क्रान्तिकारीको विद्यार्थी संगठनमा आबद्ध भएर भित्रिरूपमा नेकपा (माओवादी) पार्टीको पूर्णकालीन सदस्यको रूपमा उनले कार्य गरिन् ।

विद्यार्थीका थुप्रै हकअधिकार र जनजीविकाका लागि संघर्ष गरिरहँदा उनलाई विसं २०६० मा अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला अध्यक्षसम्मको जिम्मेवारी प्राप्त भएको थियो ।

राज्यको व्यापक धरपकड र दमनबीच मगर विसं २०६० मा तत्कालीन शाही नेपाली सेनाको गिरफ्तारीमा परेकी थिइन् । मानव बधशाला भनेर चिनिएको भैरवनाथ गणमा उनले २७ महिना बेपत्ताको अवस्थामा रहनुप¥यो ।

जनताको मुक्ति, व्यवस्था परिवर्तन र जनताको स्वतन्त्रताको संघर्षसँग जोडिएको आन्दोलनको क्रममा मगरले २७ महिनासम्म पाशविक यातना भोग्नुप¥यो । “सेनाको हिरासतमा रहँदा करेन्ट लगाउने, पानीमा डुबाउने, पाइपले पिट्नेलगायतका अमानवीय यातना दिइने गरिन्थ्यो” मगरले भनिन् ।

मुलुकमा २०६२÷६३ को जनआन्दोलन उत्कर्षमा थियो । त्यति नै बेला परिवारको तर्फबाट रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दर्ता गरिएपछि त्यसपछि अदालतले गैरन्यायिक हिरासतबाट मगरलाई रिहा गर्न आदेश दिएको उनले बताइन् ।

सम्मानित सर्वोच्च अदालतको रिहाइको आदेशलाई बेवास्ता गरी पुनः गिरफ्तार गर्ने प्रशासनको चाललाई राष्ट्रिय अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थाको संघर्ष र सहयोगले निस्तेज पारेर रिहा हुन सफल भएको उनले बताइन् ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवार भएकी उनी झिनो मतान्तरले पराजित भएकी थिइन् ।

प्रतिनिधिसभाको उम्मेदवार भई प्रचारप्रसारमा संलग्न रहेकै बेला श्रीमान् प्रकाश दाहालको असामयिक निधन भएपछि पनि उनले हिम्मत हारिनन् । शोकलाई शक्तिमा बदल्दै जनताका समस्या समाधानका लागि निरन्तर लाग्दा उनले अहिले विजय प्राप्त गर्न पुगीन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उन प्रदेश नं ७ की एक्ली विजयी महिला उम्मेदवार बन्न पुगेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार