संसद्ले पूर्णता नपाएसम्म प्रधानमन्त्रीले राजीनामा किन गर्ने ?


Share This


नेपालबहस संवाददाता    124 Views

४ पुस, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पराजित भए पनि आफू कति पनि विचलित नभएको बताएका छन् ।

व्यास नपा–१० को खहरेमा बोल्दै उनले भने –“निर्वाचनमा हारजीत हुनु स्वाभाविक प्रक्रिया हो, आफू पराजित भए पनि कति पनि विचलित भएको छैन्, जनताको सुख–दुःखमा सधैँ साथ दिइरहनेछु ।”

वरिष्ठ नेता पौडेलले संसद्ले पूर्णता नपाएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा गर्ने कुरै आउँदैन भन्दै “राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश पारित भएपछि हामी जुनसुकै बेला सरकार छोडिहाल्छौँ”, बताए ।

मुलुकको लथालिङ्ग अवस्थालाई छोडेर प्रधानमन्त्रीले राजीनामा गर्न नमिल्ने बताउँदै उनले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न काँग्रेस आतुरसमेत रहेको धारणा व्यक्त गरे ।

वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचन सम्पन्न गरी गाउँ–गाउँमा सिंहदरबार पु¥याएको उल्लेख गर्दै अब जिल्लाकै विकासमा आफू जनप्रतिनिधिसँग हातेमालो गर्दै लागिरहने बताए ।

निर्वाचनमा पराजित भए पनि मतदातालाई धन्यवाद दिन नेता पौडेल अहिले उनीहरुको घरदैलोमा पुगिरहेका छन् । यसैक्रममा बैरेनी, व्यास–७ को कलेस्ती, व्यासको छापथोक, वडा नं ८ को कोटथोक, व्यास–९ को बेलभञ्ज्याङ, कात्तिकेचौर, दलभञ्ज्याङ, तारुका, गैह्रीसरा, माझथर, पुलिम¥याङ लगायतका मतदातासँग भेटी सहयोग पु¥याएको भन्दै नेता पौडेलले उनीहरुलाई धन्यवाद व्यक्त गरे ।

राष्ट्रियसभा सम्बन्धमा अनावश्यक विवाद निकालियो : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा गठन सम्बन्धमा अनावश्यक विवाद निकालिएको भन्दै त्यसको राजनीतिक समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको केन्द्रीय कार्यालयको बैठकले संविधान, कानूनअनुसार राष्ट्रिय सभा गठन हुनुपर्ने भन्दै अनावश्यक रुपमा राजनीति गर्न खोजिएको भन्दै जनादेशको सम्मान गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

बैठकले राष्ट्रिय सभा गठनसम्बन्धी देखिएको विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष निकाल्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले दिएको जनादेशलाई सम्मान गर्न आग्रह गरेको हो ।

“राष्ट्रिय सभा गठनसम्बन्धी विवाद राजनीतिक विषय हो । यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ । शीर्षनेता बसेर सहमति खोज्नुपर्नेमा जोड दिएका छाँै । त्यसैअनुसार अघि बढ्छौँ”, बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन् ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, नेपाल सरकार, कूटनीतिक नियोग र सम्पूर्ण मतदातामा धन्यवाद प्रकट गरेको छ ।

बैठकले वाम गठबन्धन बनाएर चुनावमा होमिँदा परिणाम सकारात्मक आएको भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमोदन गरेको ठहर गरेको छ । बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय गरेको प्रवक्ता भुसालले जानकारी दिइन् ।

उनले भनिन्, “जनताले वाम गठबन्धन र पार्टी एकतालाई अनुमोदन गरिसकेका छन् । पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्छ, अब पार्टी एकता कसैले रोकेर रोकिँदैन ।” समानुपातिक निर्वाचन प्रणालीमा माओवादी केन्द्रको कम मत आउनुमा ६० प्रतिशतभन्दा बढी स्थानमा पार्टीको उम्मेदवार नहुनु र उक्त निर्वाचन प्रणालीका बारेमा व्यवस्थित प्रचार नहुनु पनि मुख्य कारण रहेको ठहर गरेको छ ।

बैठकमा नेताहरुले नेकपा (एमाले) सँगको एकता प्रक्रियाका बारेमा धारणा राख्दै सैद्धान्तिक र सांगठनिक विषयमा स्पष्टताको आवश्यकतामा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार