भजन घर निर्माणका लागि तत्काल रु २० लाख


Share This


नेपालबहस संवाददाता    106 Views

११ माघ, काठमाडौं । पुरातत्व विभागले काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घर निर्माणका लागि तत्काल रु २० लाख दिने भएको छ ।

गत पुस २८ गते राति भएको आगलागीका कारण क्षति भएको उक्त घरको स्वरूप नमासिने गरी निर्माण गर्न सो रकम उपलब्ध गराउने र नपुग रकम अर्को वर्ष थप गर्ने विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

दोस्रो चौमासिक पनि सम्पन्न हुन लागेकाले विभागले अहिले नै उक्त शीर्षकमा धेरै रकम खर्च गर्न नसकेको हो । भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भइ हस्तकला, फर्निचर, भजनका सामग्रीलगायत नष्ट भई करिब रु ३० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले शाक्यमुनि गौतमबुद्धले दिएका उपदेशलाई साँगितीक रूपमा प्रस्तुत गरीे संस्कृतिको शुरुवात गरिएको ऐतिहासिक भजन घर चाँडो निर्माण गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बुद्धले आफ्नो जीवनकालमा दिएका शिक्षा तथा सन्देशलाई संग्रह गरी तीन भागमा विभाजन गरी त्रिपिटकको विकास गरिएको थियो । पछिल्लो समयमा यिनै ज्ञानलाई गीतका भावमा भजन बनाएर स्रोतालाई सुनाउन विकास गरिएको पद्धतिलाई ज्ञानमाला भनिन्छ । थेरवादी बौद्ध धर्मावलम्बीले विभिन्न बौद्धस्तोत्रलाई संगीतमय वातावरणमा गाइरहेको भजनले बौद्ध शिक्षाको प्रवद्र्धनमा सहयोग पु¥याएको छ ।

विसं १९९४ मा स्वयम्भू महाचैत्यबाट भिक्षु तथा उपासकले बुद्ध वचनका विभिन्न आयामलाई समेटेर शिक्षा दिने उद्देश्य राखेर ज्ञानमाला भजनको विकास भएको इतिहास छ ।

बुद्धले अनुभव गरेका विषयवस्तु तथा ज्ञानका आधारमा विकास भएका, त्रिरत्न, चार आर्य सत्य, पञ्चशील, आठ मार्गलगायत अधिकांश विषय उक्त भजनमा समावेश गरिएको छ । बौद्ध साहित्यमा ज्ञानमाला भजनको ठूलो महत्व भए पनि यसलाई फैलाउन सकिएको छैन ।

कामपा–१५ का वडाअध्यक्ष ईश्वरमान डंगोलले त्यस क्षेत्रमा देश विदेशबाट आउने भक्तजनको संख्या दिन प्रतिदिन बढ्दै गएकाले पनि जीर्ण रहेका सम्पदास्थलको मर्मत तथा सम्भार छिट्टै गर्न आवश्यक रहेको बताए ।

विशेषगरी हिन्दू तथा बौद्धले आस्था राख्ने उक्त क्षेत्रमा रहेका सम्पदास्थल पुनःनिर्माण तथा मर्मतका लागि सरोकार पक्षले राम्रोसँग देखाएमा खर्चको अभाव नहुने स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ ।

अन्तरराष्ट्रिय क्षेत्रमा पनि विभिन्न दातृ संघ संस्थाका प्रतिनिधिसंग सहयोगका लागि आग्रह गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछि परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भएको थियो ।

चैत्यको गोलाद्र्धका विभिन्न भागमा चिरा परेको छ भने त्रयोदश भूवनका चक्का भत्कने स्थितिमा पुगेको छ । प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि विभाग र महासमितिले समेत अध्ययन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार