शनिबारदेखि मुग्लिन सडक दिउँसो रोकिने, पोखरी हुँदै नुनढाकी जाने सडक निर्माण कार्य तीव्र


Share This


नेपालबहस संवाददाता    128 Views

१२ माघ, काठमाडौं । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ ।

रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

गत पुस १८ गतेदेखि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । आज राति भने सडक नरोकिने आयोजनाका इञ्जिनियर शिव खनालले बताए ।

गत वर्ष दिउँसो १० बजेदेखि ४ बजेसम्म सवारी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सडक रोकेर काम गर्न माग गर्दै आएका थिए । यसअघि परीक्षणको रुपमा रातिमा सवारी रोकेर काम गर्न स्थानीय प्रशासनले दबाब दिएको थियो ।

रातिको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने हुँदा उक्त सडक खण्ड पार गर्न घण्टौँ लाग्ने गरेको छ जसका कारण दिनको काम पनि प्रभावित भएको छ ।

आयोजनाका प्रमुख चन्द्रनारायण यादवले राति सवारी रोक्दा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको बताए । उनले भने “रातमा सवारी रोक्दा दिउँसोको पनि काम प्रभावित भयो जसले गर्दा प्रगतिमा चार गुणा कमी आयो ।” त्यसैले शनिबारबाट गत वर्षझैँ दिउँसो सवारी रोकेर काम गर्ने बताए ।

सो सडकको घुमाउने, १६ किलो र चेपाङ डाँडामा भित्तो काट्ने काम बाँकी रहेको छ । घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र १६ किलोमा ३०० मिटर भित्तो काट्ने काम बाँकी रहेको छ ।

हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न र १४ दशमलव ७ किलोमिटर सडक कालोपत्रे भएको आयोजनाले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिउँसो सवारी रोक्ने ठाउँ तय गरेको छ ।

कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने ट्रकलाई भतेरी र रामनगरमा रोकिनेछ भने बस र साना सवारीलाई जुगेडी र दाशढुंगामा रोकिने छ ।

काठमाडौँबाट नारायणगढतर्फ आउने बस र साना सवारीलाई मुग्लिनमा र ट्रकलाई लेवाटारमा रोकिने छ । पोखरातर्फबाट आउने बस र साना सवारीलाई बेनिटार र ट्रकलाई आँबुखैरनीमा रोकिने उनले बताए ।

पोखरी हुँदै नुनढाकी सडक निर्माणले स्थानीयवासीमा खुशियाली
संखुवासभाको व्यापारिक बजार पोखरी हुँदै नुनढाकी जाने सडकको कार्य तीव्रगतिमा अगाडि बढेसँगै स्थानीयवासीमा खुशियाली छाएको छ ।

उन्नति संस्थाको रु १० करोड ७९ लाख ४२ हजार ४५९ को लागतमा २१ किलोमिटर सडक निर्माण गर्ने जिम्मा पाएका थोदुङ् कुन्सालिङ जेभी कम्पनीले सडक निर्माण कार्यमा तीव्रता दिएको हो । ठेकेदार सीताराम तामाङका अनुसार यो सडक निर्माण गर्दा आफूहरुलाई स्थानीयवासीले समेत साथ दिइरहेका छन् । निर्माण कार्य शुरु गरेको छ महिना नबित्दै ३० प्रतिशतभन्दा बढी काम गर्न आफूहरु सफल भएको उनको दाबी छ ।

चैनपुर नगरपालिकाले सडक निर्माणको कार्यलाई कडाइका साथ अनुगमन गरिरहेकाले गुणस्तरीयता कायम गर्न आफूहरुले समेत निगरानी गरिरहेको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले बताए । उक्त सडक निर्माण हुँदा खाँदबारी, चैनपुर, पाँचखपनलगायतका स्थानीयवासीले संखुवासभाको चैनपुर नगरपालिका–१ मा नुनढाकीस्थित प्रसिद्ध तीर्थस्थल तातोपानीलगायत तेह्रथुम, ताप्लेजुङ र चैनपुर नगरपालिका–१ नुनढाकी गुफापोखरीे संगमस्थलमा नेपालमा पाइने ३२ प्रजातिको गुराँसमध्ये २८ प्रजातिको गुराँस फूलको रमणीयस्थल तिनजुरे, मिल्के, जलजले क्षेत्र र ताप्लेजुङसम्मको सहज यात्रा गर्न सक्ने बताइएको छ ।

उक्त सडक सञ्चालनबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्न सक्ने जिल्ला समन्वय समिति, संखुवासभाका प्रमुख सुमन शाक्यले बताए ।

अहिले इस्टिमेटबमोजिम ग्याबियन वाल, नाली निर्माण कार्यका साथसाथै सडक चौडा बनाइ सहजरुपबाट सवारीसाधन आवतजावतमा समेत अवरोध नपुग्ने गरी द्रुतगतिमा निर्माण कार्य भइरहेको प्रमुख खत्रीले बताए ।

सडक निर्माण कार्यलाई तीव्रता दिन साँझको समयपछि मात्र लोड गाडी आवतजावत गर्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक हेमन्तकुमार राणाले बताए ।

सडक निर्माण कार्य सम्पन्न भएपछि व्यापारिक एवं पर्यटकीय महत्वको चैनपुर बजारबाट पोखरी हुँदै नुनढाकीसम्मका स्थानीयवासीको दैनिक जीवनयापन र स्थानीय उत्पादनको बजार प्रवद्र्धनमा सहजता आउनुका साथै आर्थिक कारोबारमा थप वृद्धि हुनेमा स्थानीयवासी आशावादी छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार