शहीद घोषणाको बाँदरमुढे पीडितद्वारा स्वागत


Share This


नेपालबहस संवाददाता    228 Views

१२ माघ, काठमाडौं । बाँदरमुढे घटना पीडित समितिले उक्त घटनाका मृतकलाई सरकारले शहीद घोषणा गरेकामा स्वागत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते जिल्लाको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबाहक बसमा भएको बम विस्फोटमा परी मारिएका ३८ जनालाई शहिद घोषणा गरेकामा समितिले एक विज्ञप्ति प्रकाशित गरी स्वागत गरेको हो ।

समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेद्वारा जारी विज्ञप्तिमा लामो समयदेखि आफूहरुले राखेको माग वर्तमान सरकारले सुनुवाइ गरेको उल्लेख छ । समितिले आगामी दिनमा पीडकलाई सजाय र पीडितलाई न्याय तथा परिपूरण दिन सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

विज्ञप्तिमा वर्तमान सरकारको शहीद घोषणाको निर्णयलाई सहयोग र स्वागत गरिने जनाइएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिला आयोगलाई पूर्णरुपमा सहयोग गरी पीडितलाई बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न मागसमेत गरिएको छ ।

माडीको बाँदरमुढे खोलामा २०६२ साल जेठ २३ गते यात्रुबाहक बसमा बम विस्फोट हुँदा ३८ जनाले ज्यान गुमाएका र ७२ जना घाइते भएका थिए । सो घटनामा माओवादी केन्द्रले माफी माग्दै आएको छ ।

बाँदरमुढे घटनाका ३८ जना शहीद घोषित
यसैबीच, प्रधानमन्त्रीको निवास बालुवाटारमा हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक बसमा भएको बम विस्फोटमा परी मृत्यु हुनेलाई शहीद घोषणा गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले सशस्त्र द्वन्द्वकालमा कास्की जिल्लामा तत्कालीन विद्रोही समूह नेकपा(माओवादी) बाट मारिएका कृष्णबहादुर गुरूङ, ईश्वर गुरूङ, मेखबहादुर गुरूङ, सुरत्तमसिंह गुरूङ, चन्द्रबहादुर रानाभाट, पशुपति रानाभाट, पूर्णबहादुर भुजेल र हरिप्रसाद गुरूङलाई पनि शहीद घोषणा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

त्यसैगरी सशस्त्र द्वन्द्वकालमा माओवादीबाटै मारिएका सिन्धुपाल्चोकका कृष्णप्रसाद सापकोटा, दिलबहादुर दनुवार, नेत्रबहादुर दंगाल, देवीजङ्ग पाण्डे, हिक्मतबहादुर भण्डारी, मित्रबहादुर दनुवार र छत्रबहादुर गिरी, सुनसरीका ब्रह्मदेव उराँव र छत्र खतवे तथा खोटाङका कालुमान गुरूङलाई शहीद घोषणा गर्ने निर्णय गरिएको छ ।

बैठकले पूर्वी रूकुमको सदरमुकाम उत्तरगंगा वडा नं १२ गोलगोल खाँडालाई तोक्ने र परिवार नियोजन संघको केन्द्रीय तथा शाखा कार्यसमिति विघटन गरी छत्रबहादुर गिरीका अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।

“बैठकले सार्वजनिक खरिद अनुगमनका सचिव कृष्ण देवकोटालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र सो मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा गर्ने निर्णय गरेको छ”, सरकारका प्रवक्ता मन्त्री बस्नेतले भने ।

त्यसैगरी प्रदेश नं १ को धरान, प्रदेश नं २ को वीरगंज, प्रदेश नं ३ को काठमाडौँ, चोभार, प्रदेश नं ४ को तनहुँ, दमौली, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को कञ्चनपुर, महेन्द्रनगरमा अन्तरराष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार