साउदी अरब र हङकङबाट विद्यालयलाई करिब तीन लाखको सहयोग


Share This


नेपालबहस संवाददाता    144 Views

१४ माघ, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा समुदायको सक्रियतामा निर्माणाधीन अवस्थामा रहेको जयन्ती माविको भवनलाई साउदी अरबबाट एक लाखभन्दा बढीको आर्थिक सहयोग भएको छ ।

विद्यालयका भूपूविद्यार्थी एवम् आर्थिक संकलन अभियानका साउदी अरब संयोजक मनबहादुर क्षत्रीले साउदी अरबमा रहेका नेपालीबाट संकलन गरेको रु एक लाख ११ हजार ५५ शनिबार विद्यालयलाई हस्तान्तरण गरेका छन् । भकिम्लीमा समुदाय र दाताको सहयोगमा ३० कोठे पक्की विद्यालय भवन निर्माण भइरहेको छ । विद्यालय भवन निर्माणका लागि हालसम्म करिब रु एक करोड ८० लाखभन्दा बढी खर्च भइसकेको विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले जानकारी दिए ।

सदरमुकामनजिक रहेर पनि सरकारी निकायबाट उपेक्षामा परेको विद्यालयलाई विपन्न परिवारले जनश्रमदान र अन्नबाली बेचेर समेत भवनका लागि सहयोग गरेका प्रधानाध्यापक पुनले बताए । निर्माणाधीन अवस्थामा रहेको भवनलाई जिल्ला शिक्षा कार्यालयबाट रु १९ लाख ५० हजार सहयोग भए पनि बाँकी सबै चन्दा संकलन गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

विद्यालयलाई एक लाख ८० हजार सहयोग
त्यस्तै, वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ ।

ग्रुपका प्रतिनिधि लक्ष्मी खापुङ इन्द्रले शनिबार उक्त रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई हस्तान्तरण गरे। अक्षयकोषमा रहने गरी विद्यालयको स्तरोउन्नतिका लागि उक्त रकम सहयोग गरिएको खापुङले बताए । आफूले हङकङमा विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकसँग रु एक लाख ३० हजार संकलन गरेको र ग्रुपका तर्फबाट ५० हजार थप गरी सहयोग गरिएको खापुङले बताए ।

यसअघि केबिआई गु्रपले उर्लाबारी—९ कै प्रभात आधारभूत विद्यालयलाई पनि कसल लिम्बूको नेतृत्वमा नगद एक लाख ७७ हजार ६०० सहयोग गरेको भीम पन्धाकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार