माओवादी केन्द्रबाट १ मात्र पुरुष समानुपातिक सांसद


Share This


नेपालबहस संवाददाता    59 Views

१ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फका सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार पार्टीले प्राप्त गरेको १७ जना सांसदमा खस आर्य महिलाबाट पाँच जना निर्वाचित गर्न सूची पठाएको छ । त्यसमा रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल छन् । शर्मा पूर्वमन्त्री एवं सभासद् हुन् । सुवेदी पूर्वउपसभामुख, चापागाईँ पूर्वराज्यमन्त्री र पहाडी पूर्वमन्त्री हुन् । पोखरेल भने माओवादी केन्द्र महिला संगठनका पूर्वअध्यक्ष हुन् ।

यस्तै आदिवासी जनजातिबाट जयपुरी घर्ती, शशि श्रेष्ठ, ओनसरी घर्ती, यशोदा गुरुङ र अमृता थापा रहेको प्रवक्ता भुसालले जानकारी दिइन् । जयपुरी पूर्वमन्त्री तथा ओनसरी पूर्वसभामुख हुन् । यस्तै दलित महिलाबाट अञ्जना विशंखे र दुर्गा विकलाई चयन गरेर सूची बुझाइएको छ । मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनोट भएका छन् । थारु वा मुस्लिमबाट रामकुमारी चौधरी र शेष चाँदतारा चयन हुनुभएको प्रवक्ता भुसालले जानकारी दिइन् ।

माओवादी केन्द्रबाट समानुपातिकतर्फ एक मात्रै पुरुष सांसदमा चयन भएका छन् । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हितराज पाण्डेको नाम सिफारिश गरिएको छ । आयोगले तोकेको समयसीमाभित्रै समानुपातिकतर्फको सूची बुझाइएको माओवादी केन्द्रले जनाएको छ ।

‘एक साताभित्र पार्टी एकता हुन्छ’
नेकपा (माओवादी केन्द्र) सचिवालय समिति सदस्य जनार्दन शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली दुवै पार्टीको अध्यक्ष रहने गरी ढाँचा बनाएर भए पनि केही दिनभित्रै पार्टी एकता हुने बताएका छन् ।

बिर्तामोडमा प्रेस सेन्टर झापाको आयोजनामा भएको पत्रकार सम्मेलनमा माओवादी नेता शर्माले आइतबार भएको दुवै पार्टीको शीर्ष नेतृत्वको बैठकले समेत पार्टी एकतालाई छिट्टै टुंगोमा पु¥याउने निर्णय गरेको जानकारी दिए ।

एकताको ढाँचालाई संयोजन समितिमार्फत एक दुई दिनमै टुंग्याइने र सरकार निर्माणको प्रक्रियामा अगाडि बढ्ने गरी सहमति भएको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार