प्रधानमन्त्री ओलीले दिए ल्होसारको शुभकामना, हिजो साँझ मन्त्रिपरिषद्को पहिलो बैठकमा यस्तो भयो निर्णय, चिनले दियो बधाई


Share This


नेपालबहस संवाददाता    76 Views

४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिको प्रमुख चाड ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायमा शुभकामना व्यक्त गर्दै अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल भएको बताएका छन् ।

उनले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि देशमा आधारभूत रुपमा राजनीतिक संक्रमणकाल सकिएको र निर्वाचनको परिणामअनुसार देशले नयाँ प्रधानमन्त्री पाएको उल्लेख गर्दै आज दिएको सन्देशमा भन्नुभएको छ, “अबको सरकारको मूल प्राथमिकता सुखी नेपाली समृद्ध नेपाल हो । प्राकृतिक स्रोत, साधन र मानवीय स्रोतले नेपाल उन्नत ठाउँ हो । अब सरकारले प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै रोजगारीका अवसर सिर्जना गरेर देशलाई समृद्ध बनाउने दिशातिर लाग्नेछ । देशको यो मूल प्राथमिकतामा सम्पूर्ण शेर्पा समुदायको साथ सहयोग रहनेछ भन्ने विश्वास मैले लिएको छु ।”

“हामी हाम्रो राष्ट्र, राष्ट्रियता, स्वाभिमान, शान्ति र लोकतन्त्रप्रति प्रतिबद्ध छौँ । संविधानले निर्दिष्ट गरेका मौलिक हकको प्रत्याभूतिका लागि सरकार सधैँ प्रतिबद्ध रहनेछ । ‘सुखी नेपाली, समृद्ध नेपाल’को चाहनालाई पूरा गर्न सरकारले चाल्ने कदमप्रति यहाँहरु सबैको साथ र सहयोग प्राप्त हुनेछ भन्ने विश्वास मैले लिएको छु ”, सन्देशमा भनिएको छ ।

मन्त्रिपरिष्दको पहिलो निर्णयः उद्योगग्राम, रंगशाला र प्राविधिक महाविद्यालय स्थापना गरिने
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्येक स्थानीय तहमा उद्योगग्राम निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकले प्रत्येक प्रदेशको सदरमुकाममा आधुनिक खेलग्रामसहितको रंगशाला बनाउने र प्रत्येक प्रदेशमा प्राविधिक÷व्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय पनि गरेको महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले जानकारी दिए ।

बैठकले नेपालको संविधानबमोजिम संघीय संसद्, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक कार्यभार सफलतापूर्वक पूरा गरेकामा निर्वाचन आयोग, निजामती तथा सुरक्षा निकायका राष्ट्रसेवक एवं प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्ने मतदाता र नागरिकप्रति पनि आभार व्यक्त गरेको मन्त्री थापाले बताए ।

मन्त्रिपरिषद्को पहिलो बैठकले नेपालमा लोकतन्त्र स्थापना गर्न भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्तसम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति सम्मान र श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

दुई वर्षभित्रै सबै स्थानीय तहमा प्राविधिक शिक्षालय’
सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)ले मान्यता दिएका प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ पदबहाली गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई प्राविधिक रुपमा दक्ष बनाउन र रोजगारीको अवसरसमेत सिर्जना गर्ने लक्ष्यका साथ सबै स्थानीय तहमा त्यस्तो शिक्षालय स्थापना गर्ने निर्णय गरेको हो । आफू पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि देशभरकै तुइन हटाउने निर्णय गरेको र सो कार्यक्रम हाल कार्यान्यवनमा रहेको जानकारी दिँदै उनले यस पटक पनि ‘केही नयाँ गरौँ’ भन्ने लक्ष्यका साथ उक्त निर्णय गरिएको बताए ।

प्रधानमन्त्रीले संघीय संसद् भवन निर्माणको प्रक्रिया आजैदेखि शुरु भएको जानकारी पनि दिए । “सरकारले आगामी दुई वर्षभित्र संघीय व्यवस्थापिका–संसद्को भवन निर्माण गर्ने गरी आजैको मितिदेखि काम शुरु गरेको छ”, प्रधानमन्त्रीले भने । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई तत्कालका लागि प्रयोग गरिए पनि त्यसलाई तिरिएको भाडाबाट अरु भवन बनिसक्ने अवस्था छ भन्दै प्रधानमन्त्रीले संसद् भवन निर्माणलाई विशेष प्राथमिकता दिइने र दुई वर्षभित्र कुनै पनि शर्तमा निर्माण सम्पन्न गरेरै छाडिने दृढता व्यक्त गरे ।

समृद्ध र सुखी नेपाल निर्माण गर्नु सरकारको पहिलो कर्तव्य र दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाली जनताको चाहनाबमोजिम आर्थिक समृद्धिको अभियान नै सञ्चालन गरिने बताए । उनले सबल, जनमुखी र जनपक्षीय केन्द्रीय, प्रदेश र स्थानीय सरकार सञ्चालन गर्ने कानुनी शासनको प्रबन्ध तथा परिचालन, क्षमताको विकास कृषिको आधुनिकीकरण, यातायात, सञ्चार पूर्वाधार क्षेत्रको विकास गर्न दृढ संकल्पित भएर लाग्ने बताए ।

शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता विकासका कामको प्रत्याभूति नेपाली जनतालाई हुने गरी काम गरिने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पर्यटन तथा सेवा क्षेत्रको विकास, आन्तरिक तथा बाह्य लगानी वृद्र्धि, उद्योग व्यवसायलाई बढावा दिने लगानीमैत्री वातावरण सिर्जना, अर्थतन्त्रको सबै क्षेत्रलाई गतिशील बनाएर रोजगारीको अवसर सिर्जना र आर्थिक समृद्धि गर्ने लक्ष्यका साथ सरकारका अगाडि बढ्ने स्पष्ट पारे ।

आमरुपमा रोजगारीका अवसर सिर्जना गर्ने, सामाजिक आर्थिक रुपमा समानता, न्याय, समानताको व्यावहारिक कार्यान्वयन गर्ने एवं शासकीय सुधार तथा भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ सरकार कटिबद्ध भएर लाग्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले कानुनको शासन, विधि र न्यायमा कुनै पनि भेदभाव नगरिने तथा राजनीतिक आस्था र विचारका आधारमा कोहीकसैलाई पनि विभेद नगरिने स्पष्ट गर्दै भन्नुभयो, “सरकार सबैलाई समान व्यवहार गर्छ, कोही कसैलाई पनि तलमाथि, हुने, असमानता महसुस हुने काम गर्दैन तर भ्रष्टाचार, अनियमितता, कानुनविपरीत हुने कुनै पनि काममा सम्झौता गर्दैन । भ्रष्टाचारमा पूर्ण रुपमा शून्य सहनशीलताको व्यवहार गर्दछ ।”

कालो धनका पक्षमा सरकार छैन
सामाजिक सद्भाव खल्बल्याउने, राष्ट्रिय हित विपरीत काम गर्ने कोही कसैलाई पनि छुट नदिइने र त्यस्तो प्रवृत्तिलाई कानुनअनुसार नियन्त्रण गरिने प्रधानमन्त्रीको कथन थियो । प्रधानमन्त्रीले स्वदेशभित्रैको सानो पूँजी परिचालन गरेर जलविद्युत् क्षेत्रको विकास र आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अगाडि बढाउन सकिने छ भन्दै सरकार सो दिशामा समेत क्रियाशील रहने स्पष्ट पारे । कुनै पनि गलत मनशायका साथ जम्मा गरिएको कालो धनका पक्षमा आफू र आफ्नो सरकार नरहने स्पष्ट गर्दै उनले आफूले विगतमा फरक प्रसंगमा बोलेको विषयलाई गलत तवरले प्रचार गरिएकामा दुखेसो गरे ।

उनले जनतालाई परिवर्तनको महसुस हुने गरी काम गर्ने विश्वास व्यक्त गर्दै स्वदेशमा नै रोजगारीको वातावरण बनाउने र विदेशमा रोजगारीको खोजीमा गएका युवालाई स्वदेशमा फर्काउने प्रयास गरिने बताए । उनले कानुनको राज, पारदर्शिता र स्वच्छतामा कुनै पनि सम्झौता नहुने बताउँदै गलत मनशायका साथ हुने कुनै पनि कामकारवाहीमा सरकार चुप लागेर नबस्ने दृढता व्यक्त गरे ।

चिनियाँ प्रधानमन्त्रीले दिए बधाई

चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले श्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएकामा बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री लीले आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताएका छन् । सन्देशमा चिनियाँ प्रधानमन्त्रीले ‘एक क्षेत्र एक मार्ग’अन्तर्गत विविध क्षेत्रमा पारस्परिक लाभका क्षेत्रमा सहयोग गरिने पनि बताएका छन् ।

समावेशी मन्त्रिमण्डल
प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो चरणको तीन सदस्यीय मन्त्रिपरिषद् समावेशी देखिएको छ ।

प्रधानमन्त्रीसँगै शपथ लिएका जनसंख्यामन्त्री लालबाबु पण्डित मधेशी र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा महिला र आदिवासी समूहबाट प्रतिनिधित्व गर्छन् । वाम गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) बाट र नेकपा(एमाले)का पदाधिकारी तहबाट सरकारमा सहभागिता हुन बाँकी रहे पनि आजका नियुक्त दुई मन्त्रीले जनतामा सकारात्मक सन्देश दिने देखिएको छ ।

विगतमा सामान्य प्रशासनमन्त्री हुँदा राष्ट्रिय हितका र प्रशासन सुधारका काम गरेर चर्चा कमाउनुभएका पण्डितको राजनीतिक यात्रामा आधारित ‘सिंहदरबार बदल्ने संघर्ष’ नामक पुस्तकसमेत आएको छ । एमालेका पोलिटब्यूरो सदस्य उनले प्रतिनिधिसभा सदस्यमा मोरङ–६ बाट नेपाली काँग्रेसका नेता डा शेखर कोइरालालाई पराजित गरी विजयी भएका थिए ।

एमाले नेत्री महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थापा प्रतिनिधिसभामा समानुपातिक सदस्य छन् । उनी विसं २०७० को संविधानसभामा पनि सदस्य थिए । हाल उनी अखिल नेपाल महिला संघका महासचिव छिन् । उनीहरु दुवै जनाले आजै आआफ्ना मन्त्रालयको कार्यभार पनि सम्हाल्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार