महान्यायाधिवक्तामा खरेल नियुक्त


Share This


नेपालबहस संवाददाता    80 Views

९ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले झापा गौरादह–३ का वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गरेकी छिन् ।

प्रधानमन्त्रीको सिफारिसशमा नेपालको संविधानको धारा, १५७ को उपधारा, २ बमोजिम खरेललाई उक्त पदमा नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैबीच, सरकारले महान्यायाधिवक्ता पदमा वरिष्ठ अधिवक्ता अग्नि खरेलको नाम सिफारिश गरेको थियो ।

सरकारको मुख्य कानुनी सल्लाहकारमा सरकारले वरिष्ठ अधिवक्ता खरेलको नाम सिफारिश गरेको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री समेत भइसकेका खरेलको जन्म २०१७ साल माघ १२ ताप्लेजुङको थेचाम्बु–५ भएको थियो ।

नेपाल ल क्याम्पसबाट २०४१ सालमा कानुनमा स्नातक गरेका खरेलले २०४२ सालमा वकालत शुरु गरेका थिए । विसं २०६८ मा वरिष्ठ अधिवक्ताको पदवी प्राप्त गरेका खरेल विसं २०४५ मा नेपाल बार एशोसिएशनका केन्द्रीय सदस्य र २०५४ सालमा बारको महासचिव भएका थिए ।

त्यसैगरी, २०४७ सालको संविधान निर्माणमा एमाले नेता माधवकुमार नेपालको कानुनी सहयोगीका रुपमा काम गरेका उनले २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिका सदस्य, २०६४ र २०७० सालमा संविधानसभा सदस्य, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक भएका थिए । उनले संविधान लेखनका क्रममा विभिन्न मस्यौदा समितिमा रहेर काम गरेका थिए ।

नेपालको संविधान जारी भएपछि वरिष्ठ अधिवक्ता खरेल २०७२ साल असोज २४ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको कानून, न्याय तथा संसदीय मामिलामन्त्री र करिब एक महिना शिक्षामन्त्रीका रुपमा समेत काम गरेका थिए ।

महान्यायाधिवक्तामा सिफारिश भएका खरेलले भने, “संविधान निर्माण प्रक्रियामा निरन्तर भूमिका निर्वाह गरेको छु, कानूनकै क्षेत्रमा लामो समय काम गरेको हुँदा महान्यायाधिवक्ताका रुपमा सफलताका साथ काम गर्नुछु भन्ने विश्वास छ ।”

सरकारको प्रमुख कानूनी सल्लाहकारका रुपमा रहने महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार