महाकाली अञ्चल अस्पताल सञ्चालनमा, झ्यालबाट हामफाल्दा एक बिरामीको मृत्यु


Share This


नेपालबहस संवाददाता    69 Views

२१ फागुन, काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालका सबै सेवा आइतबारदेखि सञ्चालन भएका छन् । शनिबार अस्पतालमा उपचाररत भीमदत्तदनगरपालिका–११ भुजेलाका ४६ वर्षीया कलावती सार्कीको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले अञ्चल अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै दुव्र्यवहार गरेपछि अस्पतालका सबै सेवा ठप्प गरिएको थियो ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त र अस्पताल प्रशासनबीच भएको सहमतिपछि अस्पताल सञ्चालन भएको हो । मृतकको शवपरीक्षणका लागि धनगढीबाट चिकित्सक बोलाउने र घटनाको छानबिनका लागि विज्ञ टोली गठन गरी छानबिन गरिदिन प्रदेश नं ७ को सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए ।

एक साताअघि महाकाली अञ्चल अस्पतालमै पाठेघरको शल्यक्रिया गरेकी सार्कीलाई स्वास्थ्यमा समस्या भएपछि शुक्रबार राति अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचारमा रहेकी सार्कीको शनिबार बिहान मृत्यु भएपछि मतृकका आफन्त आक्रोशित बनेका थिए ।

अस्पतालको झ्यालबाट हाम्फाल्दा मृत्यु
उता, चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु भएको छ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाको यसरी मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

उनी यही फागुन १९ गते अल्कोहलका कारण प्याङक्रियाज सुनिएर उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका थिए । भरतपुर अस्पतालको मेडिकल वार्डमा उपचाररत सुब्बाको आइतबार साँझ करिव ५ः३० बजेको समयमा अस्पतालको झ्यालबाट हाम्फालेर मृत्यु भएको ढकालले जानकारी दिए । उनका अनुसार सुब्बाले अस्पतालको शौचालयको झ्यालबाट हाम्फालेका थिए । गम्भीर अवस्थामा भेटिएका उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा युवानिधि बस्यौलाका अनुसार उनको आकस्मिक कक्षमा उपचारकै क्रममा मृत्यु भएको र शवलाई अस्पतालमै राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार