मातातीर्थ कुण्डमा भक्तजनको भीड


Share This


नेपालबहस संवाददाता    55 Views

३ वैशाख, काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष वैशाख कृष्ण औँसी (आजैका दिन / आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसी) का दिन त्यहाँ मेला लाग्ने गर्दछ । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । दिवंगत माताको स्मरणमा उक्त कुण्डमा स्नान गरेर पवित्र मनका साथ तर्पण दिएपछि र पोखरीमा हेरेमा जन्म दिने माताको स्वरूपको दर्शन पाइने जनविश्वास छ ।

उक्त कुण्डमा वैशाख कृष्ण औँसीका दिन एक जना ग्वालाले प्यास लागेर पानी खान जाँदा दिवंगत भएकी आफ्नो माताको स्वरुप देखेको किंवदन्ती पाइन्छ ।

नगरपालिकाका उपप्रमुख लीसा नकर्मीले त्यहाँ आउने भक्तजनको सुविधाका लागि सुरक्षाकर्मी, स्वयम्सेवकको व्यवस्थापन गरिएको जानकारी दिइन् । उनका अनुसार दिवंगत भएकी माता प्रसन्न भइदिएको आशीर्वादको प्रभावले छोराछोरीहरू शान्ति, सुखी र समृद्धि हुने पनि विश्वास गरिएको छ । उक्त स्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा प्रवद्र्धन गर्न गृहकार्य भइरहेको उपप्रमुख नकर्मीले जानकारी दिए ।

स्वस्थानी कथामा यो कुण्डमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको प्रसंग पाइन्छ । हिन्दू धर्मावलम्बीले जन्म दिने आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन मान्यता तथा विश्वासका साथ सो तीर्थस्थलमा मेला भर्न आउने गर्दछन् । विशेषगरी आमा दिवंगत भएका भक्तजन आउने उक्त तीर्थस्थलमा काठमाडौँ तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको सहभागिता बढेको छ । आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिनका रुपमा हिन्दूले आजको दिन दिवसका रुपमा मनाउने गर्दछन् । स्थानीय गुर्जुधारादेखि मातातीर्थसम्म चल्ने सवारी साधनलाई आज निषेध गरी अन्यत्रैबाट वैकल्पिक व्यवस्था गरिएको थियो ।

मातातीर्थमा मातृश्रद्धा
आज आमालाई सम्मान गर्दै मीठा मीठा खानेकुरा खान दिई सम्मान प्रकट गरिएको छ ।

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन नौ महिनासम्म आफ्नो गर्भमा राखेर जन्म दिएकी आमा जीवित भएमा मीठो खान लाउन दिई सम्मान तथा दिवङ्गत भए तर्पण, पिण्ड दान र श्राद्ध गरी स्मरण गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने धर्मशास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम् पर्व मानिन्छ । आजका दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । बौद्ध धर्मावलम्बीसमेत त्यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न पुग्छन् ।

आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्छन् । आमा बित्नेले सके प्रत्येक वर्ष नसके एक पटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यता छ । सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ । यसले गर्दा मातातीर्थको आकर्षण बढाएको भक्तजनले बताए ।

मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित एउटा कथा यस्तो छः धेरै वर्ष पहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौरमा एक गोठालाले फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए । कथानुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा थिइनन् । त्यस दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई त्यसको नाम मातातीर्थ राखे ।

यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो । मुलुकका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार