समृद्ध,सुखी नेपाल बनाउने अभियानमा युवा लाग्नुपर्छ : मन्त्री विष्ट


Share This


नेपालबहस संवाददाता    33 Views

काठमाडौं । श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप, ज्ञान र क्षमतालाई सरकारले उपयोग गर्ने बताए ।

राष्ट्रिय युवा परिषद्ले आज आयोजना गरेको ‘वैदेशिक रोजगारबाट फर्किएका युवाको राष्ट्रिय भेला’मा वैदेशिक रोजगारबाट फर्किएका युवालाई नेपालको हितका लागि आफ्नो श्रम, सीप स्वदेशमा नै प्रयोग गर्नका लागि वातावरण बनाइने बताएका छन् ।

मन्त्री विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको क्षमता उपयोग गर्नका लागि पूँजीदेखि स्रोतसाधन परिचालन गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै फर्किएका युवाको श्रम सीपलाई प्रयोग गरेर सरकार अगाडि बढ्ने बताए ।

मन्त्री विष्टले सरकारले शुरु गरेको समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानलाई सफल बनाउनका लागि वैदेशिक रोजगारमा रहेका युवालाईसमेत आबद्ध गरिने बताउँदै विदेशवाट फर्किएका युवालाई श्रम राजदूतका रुपमा सरकारले परिचालन गर्ने धारणा व्यक्त गरेका छन् ।

वैदेशिक रोजगारमा देखिएका समस्यालाई केही दिनमा नै सुधार गर्ने बताउँदै उनले अब केही वर्षभित्रै सीप सिकेका युवालाई मात्र वैदेशिक रोजगारमा पठाइने बताए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई पूरा गर्ने अभिभरा युवाको काँधमा रहेको बताए ।

मन्त्री विश्वकर्माले हाम्रो सामाजिक वातावरणले युवालाई वैदेशिक रोजगारमा जान बाध्य तुल्याएको छ, भन्दै अब विदेश नभई स्वदेशमा नै आफ्नो श्रम लगाएर देश विकासमा युवा लाग्नुपर्नेमा जोड दिएका छन् । युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले युवालाई स्वरोजगार बनाउनका लागि न्यूनतम ब्याजमा ऋण प्रवाह गरिएको बताए ।

सम्मेलनमा वैदेशिक रोजगारबाट फर्किएका युवा उत्तम अधिकारीले सरकारले लगानीको सुनिश्चिताको वातावरण बनाए आफूहरु कृषि, पर्यटन, जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको बताए ।

तपाईको प्रतिक्रिया