राष्ट्रियसभा सदस्यमा खतिवडा, बिंडारी र पौडेल मनोनित


Share This


नेपालबहस संवाददाता    229 Views

८ फागुन, काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा तीन व्यक्तिलाई मनोनित गरेको छ ।

मन्त्रिपरिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अर्थशास्त्री डा युवराज खतिवडा, कानूनविद् रामनारायण बिंडारी र अर्थविद् विमला पौडेल राईको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो ।

सरकारले सिफरिस गरेको तीन नामलाई राष्ट्रिपति विद्या भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छन् । यससँगै राष्ट्रियसभाले पूर्णता पाएको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट तीन जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना सदस्य यसअघि नै निर्वाचित भइसकेका छन् ।

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले राष्ट्रियसभामा तीन सदस्य मनोनयनका लागि अघिल्लो सरकारले गरेको निर्णय फिर्ता लिई नयाँ नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
राष्ट्रिय सभा सदस्यका लागि वर्तमान सरकारको सिफारिसमा परेका डा. खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगमा दुईपटकसम्म उपाध्यक्ष रहिसकेका एमाले निकट अर्थविद् हुन् ।

यसैगरी विमला पौडेल राई राष्ट्रिय योजना आयोगको पूर्वसदस्य हुन् । उनी एमाले समर्थक वुद्धिजिवी संगठनमा रहेर काम गरेकी थिइन् ।

रामनारायण बिडारी प्रचण्ड निकट कानुन ब्यवसायी हुन् । हेटौंडाका बिडारी दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट समानुपातिक सभासद् थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार