सुशासनको नयाँ इतिहास रचना गर्छु : प्रधानमन्त्री ओली


Share This


नेपालबहस संवाददाता    29 Views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई आयोजित कार्यक्रममा अर्पण गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले जनताले दिएको बहुमतका आधारमा सरकार थिति र विधिमा चल्ने बताउँदै कसैको लहड, जिद्दी र अराजकतन्त्रले लोकतन्त्रलाई कहिल्यै भलो नगर्ने बताए।

सरकार सबै राजनीतिक दललाई साथ सहयोग लिइ विश्वासमा चल्ने बताउँदै उनले सामाजिक न्याय र समानतासहितको समाजवादी लोकतन्त्रले मात्र विपन्न जनताको जीवनस्तरमाथि उक्लिने धारणा व्यक्त गरेका छन् । लोकतन्त्रमा जनता भोकै र नाङ्गै पर्नु हुँदैन, यसमा सरकार सचेत भएको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्री पद सम्हालेको दिनदेखि नै आलोचना समालोचना हुन शुरु गरेको उल्लेख गर्दै स्वच्छ आलोचनादेखि आफू नडराउने र नतर्सिने स्पष्ट समेत पारेका छन् । प्रधानमन्त्री ओलीले नेपाल र भारत, नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको चर्चा गर्दै छिमेकीसित नयाँ सम्बन्ध स्थापित भएको बताए ।

युवालाई प्रोत्साहन र पाकालाई सम्मान सरकारले गर्ने चर्चा गर्दै उनले विसं २०५१ मा आफू मन्त्री हुँदा शुरु भएको स्रष्टा सम्मान कार्यलाई विस्तारसमेत गरिएको बताए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले पुरस्कारका लागि स्रष्टा चयन गर्दा मापदण्ड बनेको जानकारी दिएका थिए । भगत सर्वजित प्रतिष्ठानका अध्यक्ष छविलाल विश्वकर्माले ओझेलमा परेका स्रष्टालाई बाहिर ल्याई सम्मान गर्ने परम्पराले स्रष्टाका आत्मविश्वास बढेको बताए ।सम्मानित व्यक्तित्व विनय कसजुले स्रष्टा सम्मानले कला र साहित्यको श्रीवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण

सो अवसरमा प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण गरेका छन् । कार्यक्रममा विसं २०७४ को राष्ट्रिय प्रतिभा पुरस्कार पाँच विधाका पाँच स्रष्टालाई अर्पण गरियो ।

यसरी पुरस्कृत हुनुहुनेमा संस्कृति विधामा प्रा .डा. रञ्जना बज्राचार्य ‘काठमाडौ’ संगीत तथा नाट्य विधामा प्रचण्ड मल्ल ‘काठमाडौं’ ललितकला विधामा ठाकुरप्रसाद मैनाली ‘काठमाडौं’ र भाषा तथा साहित्य विधामा प्रा. डा. केशवप्रसाद उपाध्याय रहेका छन् । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।

यसैगरी सोही वर्षको महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय पुरस्कारबाट पाँच विधाका पाँच जना स्रष्टालाई प्रदान गरियो । यसरी पुरस्कृत हुनुहुनेमा कविता विधामा कञ्चन पुडासैनी’काठमाडौं’ निबन्ध विधामा तेजराज खतिवडा ‘झापा’, बाल साहित्य विनय कसजु ‘पाल्पा’, भाषा साहित्यमा महेश्वरराय जलेश्वर र आख्यान विधामा अभि सुवेदी ‘तेह्रथुम’ रहेका छन् । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।

यसैगरी मन्त्रालयले यस वर्षदेखि शुरु गरेको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटक विधामा नरेश शाक्य ‘सुनसरी’ र प्रा डा मोहनहिमांशु थापा ‘काठमाडौंलाई’अर्पण गरिएको छ । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।

यसैगरी कार्यक्रममा भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार दलित मुक्ति आन्दोलन क्षेत्रबाट पदमलाल विश्वकर्मा ‘इलाम’, समाज सुधार अभियान क्षेत्रबाट दलवीर विश्वकर्मा ‘काठमाडौ’ र लेखन तथा अध्ययन अनुसन्धान क्षेत्रबाट राजेन्द्रकुमार महर्जन ‘काठमाडौं’ लाई अर्पण गरिएको थियो । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।

कार्यक्रममा विभिन्न चार विधाका प्रादेशिक प्रतिभा पुरस्कारबाट विभिन्न स्रष्टालाई सम्मानित गरिएको छ । यो पुरस्कार पाउनुहुनेमा सस्कृति विधातर्फ प्रदेश १ बाट प्राडा गोविन्दमान सिंह कार्की ‘भोजपुर’, प्रदेश नं २ बाट डा पशुपतिनाथ झा ‘महोत्तरी’, प्रदेश नं ३ बाट उद्धवप्रसाद भट्टराई ‘काभ्रेपलाञ्चोक’, प्रदेश ४ बाट डा दीनबहादुर थापा ‘बाग्लुङ’, प्रदेश ५ बाट प्रतिभा पुन ‘ रुपन्देही’, प्रदेश ६ बाट रमानन्द आचार्य ‘जुम्ला’ र प्रदेश ७ बाट मणिराज जोशी ‘कैलाली’ रहेका छन् ।

यसैगरी संगीत तथा नाट्य विधातर्फ प्रदेश १ बाट नारायण ओली ‘झापा’, प्रदेश २ बाट प्रियका झा ‘धनुषा’, प्रदेश ३ बाट सुनिता दुलाल ‘भक्तपुर’, प्रदेश ४ बाट इतु जोजिजु ‘कास्की’, प्रदेश ५ बाट सरस्वती चौधरी, प्रदेश ६ खर्कबहादुर बुढा र प्रदेश ७ बाट सुधादेवी चाड रहेका छन् ।

त्यस्तै, ललितकलातर्फ प्रदेश १ बाट गोपालप्रसाद कलाप्रेमी ‘मोरङ’, प्रदेश २ बाट सीतादेवी कर्ण ‘धनुषा’, प्रदेश ३ बाट सौरगंगादर्शनधारी ‘काठमाडौ’, प्रदेश ४ बाट सुनील सिग्देल ‘कास्की’, प्रदेश ५ बाट नरेन्द्रप्रसाद भण्डारी ‘गुल्मी’ प्रदेश ६ बाट झिग्मे तामाङ ‘मुगु’ र प्रदेश ७ बाट दीपक आउजी ‘कैलाली’ रहेका छन् ।

यसैगरी भाषा तथा साहित्य विधातर्फ प्रदेश १ बाट प्रा डा भोलानाथ पोखरेल ‘सुनसरी’, प्रदेश २ बाट विनिता ठाकुर ‘धनुषा’, प्रदेश ३ बाट नरेन्द्रराज पौडेल ‘सिन्धुपाल्चोक’, प्रदेश ४ बाट महेश्वर शर्मा ‘स्याङ्जा’, प्रदेश ५ डा दुवीन्द ढकाल ‘गुल्मी’, प्रदेश ६ बाट बलभद्र भारती ‘सुर्खेत’ र प्रदेश ७ बाट चन्द्रदेव जोशी ‘दार्चुला’ रहेका छन् ।

उक्त पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र रहेको छ । रासस

तपाईको प्रतिक्रिया