कान्दाहारको सैनिक पोष्टमा आक्रमण, २६ सैनिकको मृत्यु


Share This


नेपालबहस संवाददाता    161 Views

११ साउन, काठमाडौं । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिवान आतङ्ककारी समूहले मङ्गलबार रातभर गरेको आक्रमणमा कम्तीमा २६ सैनिकको मृत्यु भएको छ । अफगान रक्षा मन्त्रालयले बुधबार सो जानकारी दिएको छ ।

मङ्गलबार अबेर रातिबाट ठूलो सङ्ख्यामा आएका तालिवान आतङ्ककारी समूहले रातभर गरेको हमलामा परी २६ सैनिकको मृत्यु हुनुका साथै अन्य १३ सैनिक घाइते भएको सैनिक प्रवक्ता दउलत वाजिरीले बताएका छन् । सो आक्रमण बुधबार बिहानसम्म जारी रहेको छ ।

अफगान सुरक्षाबलका अनुसार अफगान सैनिकले तालिवान आतङ्ककारी समूहसँग गरेको दोहारो भिडन्तको क्रममा ८० भन्दा बढी आतङ्ककारी मारिएका छन् ।

‘हाम्रीले कैयौँ पटकसम्म गरेको हवाई आक्रमणमा दर्जनौँ आतङ्ककारी मारिए र हाम्रो हेलिकोप्टरले घाइते भएका सैनिकलाई अस्पताल पनि पु¥याएको छ’ हवाई बलका प्रान्तीय कमाण्डर जनरल रजिक सिर्जाइले बताए ।

एक वरिष्ठ सैनिक स्रोतका अनुसार यस आक्रमणका क्रममा १२ जना सैनिक अझै बेपत्ता रहेका छन् । यसबाट यो आक्रमण अत्यन्त भीषण भएको भन्ने वर्णन गर्छ भन्ने उनले बताएका छन् ।

तालिवान आतङ्ककारी समूहले आफ्नो ट्वीटरमार्फत यस आक्रमणको जिम्मा लिएका छन् ।

सन् २०१४ को अन्त्यमा नेटो सैनिकले अफगान युद्ध सकिएको घोषणा गर्दै आ–आफ्नो देश फर्किएका र त्यहाँ बाँकी रहेका केही नेटो सैनिकले पनि आफूहरु युद्ध मैदानमा गएर युद्ध नगर्ने अफगान सैनिकलाई सल्लाह र सहयोग मात्र गर्ने घोषणा गरेका थिए ।

उक्त समयदेखि हालसम्म अफगानिस्तानमा अफगान सैनिक लक्षित आक्रमण बढेको छ । सन् २०१६ मा अफगानिस्तानमा सुरक्षाबलको हताहतको सङ्ख्या ३५ प्रतिशतले बढ्यो ।

अमेरिकाआवद्ध निरीक्षणकर्ता संस्था सिगारका अनुसार सन् २०१६ आतङ्ककारी आक्रमणमा अफगान सैनिक र प्रहरीगरी ६ हजार ८ सयको मृत्यु भएको थियो ।

सन् २०१७ मा यो सङ्ख्या अझै उच्च हुने लक्षण देखा परेको छ । यस वर्षको सुरुदेखि नै सैनिक हताहतको सङ्ख्या भीषण हुँदै गएको सिगारले बताएको छ । एएफपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार