राष्ट्रपति ट्रम्पको विरोधले भरिएको पुस्तक सार्वजनिक, उत्तर कोरियाली नेतासँग कुरागर्न चाहन्छु : ट्रम्प


Share This


नेपालबहस संवाददाता    268 Views

२३ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनको विषयमा आधारित रहेर हालैमात्र प्रकाशन गरिएको एक पुस्तकलाई काल्पनिक पुस्तक भनेका छन् ।

उनलाई सो पुस्तकमा अस्थिर मानिस र राष्ट्रपति पद सम्हाल्नका लागि असक्षम व्यक्ति भनेर टिप्पणी गरिएको छ । तर यसलाई उनले एउटा पुस्तक कति काल्पनिक हुन्छ भनेर सोही पुस्तकलाई हेरे हुने प्रतिक्रिया दिएका हुन् ।

उनले आफू राष्ट्रपति पद सम्हाल्न सक्षम रहेको भन्दै यस्ता पुस्तकहरुले लेख्दैमा मेरो चरित्रमा कुनै फरक नपर्ने र असक्षम भनी यस्ता काल्पनिक कथाहरुले लेख्दैमा नहुने प्रतिक्रिया पनि दिएका छन् ।

माइकल वूल्फद्वारा लिखित सो पुस्तक सार्वजनिक भएपछि उनको यो प्रतिक्रिया आएको हो । सो पुस्तकमा राष्ट्रपति पदका लागि उहाँ योग्य व्यक्ति नरहेको आरोप लगाइएको छ ।

प्रयः विवाद आइरहने अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्पको विषयमा यो अर्को विवाद सुरु भएको छ । साथै उनले पुस्तक लेखकलाई धोकेबाजको संज्ञा दिएकोले पनि आगामी केही समय राष्ट्रपति ट्रम्प र पुस्तकका लेखकबीच विवादहरु उत्पन्न हुनसक्ने अनुमान गरिएको छ ।

उनले आफ्नो निर्वाचनका समयमा रूससँग निर्वाचनका विषयमा सम्बन्ध भएको भन्ने आरोप पनि काल्पनिक भएको बताएका छन् । उनले आफ्ना कैयौँ ट्विटर सन्देशहरूमा आफू एकजना सक्षम र स्थिर व्यक्ति भएको पनि बताएका छन् ।

माइकल वुल्फद्वारा लिखित ‘फायर एण्ड फ्युरीः इन्साइड दि ट्रम्प ह्वाइट हाउस’ नामको पुस्तक सार्वजनिक गरेका छन् । सो पुस्तक करिब २०० वटा अन्तर्वार्तामा आधारित रहेर तयार गरिएको लेखकले बताएका छन् ।

सो पुस्तकमा राष्ट्रपति ट्रम्पलाई केटौले पाराको व्यक्ति भनी चित्रण गरिएकोले अमेरिकाका विभिन्न सञ्चारमाध्यमले सो विषयलाई निकै प्रचार गरेका छन् ।

त्यसैले पनि राष्ट्रपति ट्रम्पले आफू अमेरिकाको राष्ट्रपति पदका लागि एकदमै सक्षम व्यक्ति भएकोले नै अमेरिकी नागरिकले आफूलाई चयन गरेको बारम्बारको आफ्नो ट्विटरमार्फत बताएका छन् ।

उत्तर कोरियाली नेतासँग कुरागर्न चाहन्छु– राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफू उत्तर कोरियाली नेतासँग कुरा गर्न इच्छुक रहेको बताएका छन् ।

डेभिड क्याम्प रिसोर्टमा सम्वाददाताहरुसँग उनले भने– म उत्तर कोरियाली नेतासँग वार्ता गर्न चाहन्छु, तर अहिले नै कुराकानी गरेको भने छैन ।

सम्वाददाताहरुले उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग फोनमै भएपनि कुराकानी गर्नुभएको त छैन भनी गरिएको प्रश्नको जवाफमा उनले सो धारणा राखेका हुन् ।

उनले भने– म सधैँ वार्तामा विश्वास गर्ने मान्छे हुँ र उत्तर कोरियाली नेतासँग पनि वार्ता गर्ने कुरामा म इच्छुक छु भनेर बुझ्दा हुन्छ ।

राष्ट्रपति ट्रम्पले दुई कोरियाबीच हुन गइरहेको वार्ताको पनि स्वागत गरे । उनले भने– म त सधैँ वार्ताकै माध्यमबाट सबै समस्याको समाधान गर्नुपर्छ भन्नेमा विश्वास गर्छु र अमेरिकाको धारणा पनि यही हो ।

दुई कोरियाको बीचमा हुन गइरहेको वार्ताको स्वागत गर्दै उनले यस वार्ताबाट उनीहरुबीच आगामी दिनमा पनि सौहार्द वातावरण निर्माण हुन सकोस भन्ने आफ्नो धारणा रहेको पनि उनले बताए ।

दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार आगामी मङ्गलबार, जनवरी ९ मा यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको छ । दक्षिण कोरियाली अधिकारीहरुले वार्ताको तयारी भइरहेको जानकारी दिएका छन् ।

पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुस भएको बताइएको छ । उक्त उच्चस्तरीय वार्ताको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि स्वागत गरेका छन् । एएफपी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार