अमेरिकी विदेशमन्त्री टिलरसन मध्यपूर्वमा, निःशर्त वार्ता गर्न अमेरिका तयार


Share This


नेपालबहस संवाददाता    228 Views

१ फागुन, काठमाडौं । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन मध्यपूर्वको भ्रमणका शिलशिलामा सवैभन्दा पहिला इजिप्ट पुगेका छन् ।

आइतबार राति इजिप्ट पुगेका उनले सोमबार नै इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी तथा विदेशमन्त्री सामेह साउक्रीसँग भेटवार्ता गरेका थिए । वार्ता मध्यपूर्वको सुरक्षा तथा इजिप्टमा आगामी दिनमा अमेरिकी सहयोगबारेमा छलफल गर्नुभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले मध्यपूर्वको भ्रमण सकेको करिब एक महिनाको अन्तरमा त्यहाँ पुगेका हुन् । टिलरसनले आफ्ना इजिप्टेली समकक्षी साउक्रीसँगको कुराकानीमा इजरायली तथा प्यालेष्टिनी जनताबीच शान्तिवार्ता गराउने अमेरिकी प्रतिवद्धता अनुरुप अघि बढ्न चाहेको बताएको साउक्रीले सञ्चारकर्मीलाई उल्लेख गरे । तर शान्तिवार्ताबारेको योजना बिस्तारमा भने बताएनन् ।

मध्यपूर्वी मुलुक सिरिया तथा इजरायली समस्याको समाधान नै आफ्नो भ्रमणको एजेन्डा रहने अमेरिकी विदेशमन्त्रीले इजिप्टमा भएको सञ्चारकर्मीसँगको कुराकानीमा बताए । उनी इजिप्टका नेता तथा उच्च पदस्थ अधिकारीसँगको भेटपछि हिजो नै कुबेत प्रस्थान गरेका थिए ।

उत्तर कोरियासँग निःशर्त वार्ता गर्न तयार : अमेरिका
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग कुनै शर्तविना वार्ता गर्न वाशिङटन तयार रहेको बताएका छन् ।

वाशिङटन पोस्टको सोमबारको समाचारमा अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई उद्धृत गर्दै लेखिएका छ, “यदि उत्तर कोरिया वार्ता गर्न चाहन्छ भने ट्रम्प प्रशासनले पनि वार्ता गर्नेछ ।”

तर प्योङयाङ्ले आफ्नो पारमाणविक कार्यक्रम नत्यागेसम्म उत्तर कोरियाविरूद्धका कडा प्रतिबन्धहरूलाई कायम राखिने अमेरिकी उपराष्ट्रपति पेन्सकोे भनाइ रहेको छ ।

दक्षिण कोरियामा शीतकालीन ओलिम्पिक्सको उद्घाटन समारोहमा सहभागी भइ स्वदेश फर्केपछि पेन्सको यो भनाइ आएको हो । उनी दक्षिण कोरियामा रहँदा त्यहाँका राष्ट्रपति मून जाइ–इनसँग भेटवार्ता भएको थियो ।

यसअघि ट्रम्प प्रशासनले उत्तर कोरियाली नेता किम जङ–अन निश्शस्त्रीकरणका लागि तयार नभएसम्म उत्तर कोरियासँग वार्ता नगर्ने जनाएको थियो ।

दक्षिण कोरियाली राष्ट्रपति मूनसँगको भेटवार्तामा उत्तर कोरियासँग संवाद बढाउने एउटा खाकामा आफूले सहमति जुटाएको पेन्सले पोष्टसँगको कुराकानीमा बताएको जनाइएको छ ।

यसअघि दक्षिण कोरियाबाट स्वदेश फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पेन्सले उत्तर कोरियालाई दवाब दिइरहनुपर्ने आवश्यकताबारे आफ्नो देश र दक्षिण कोरिया पूर्णतः सहमत रहेको उल्लेख गरेका थिए ।

उक्त अवसरमा अमेरिकी उपराष्ट्रपतिले उत्तर कोरियासँग वार्ता गर्ने बिषयमा कुनै प्रकारको मतभेद नभएको जनाएका थिए ।

शनिवार उत्तर कोरियाली नेता किम जङ्–अनले दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनलाई प्योङयाङ्मा वार्ताका लागि निम्तो दिएका थिए ।

दुई कोरियाबीच रहेको तनावका समय दक्षिण कोरियाले आयोजना गरेको शितकालीन ओलम्पिकले कोरियाली नेताहरूको भेटलाई सहज बनाइदिएको थियो । उत्तरको निम्ता मान्दै दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियामा आयोजना हुने शिखर सम्मेलनमा जानुभएमा यसले दुई कोरियाली नेतृत्वबीच एक दशकभन्दा पनि लामो समयपछि उच्च तहमा भेटवार्ता हुनेछ ।

दक्षिण कोरियाका राष्ट्रपति मून जाइ–इनले निमन्त्रणा स्वीकार गर्नुअघि उत्तरले निश्चित शर्तहरू पालना हुनुपर्ने दक्षिण कोरियाका प्रधानमन्त्रीले आइतवार सोलमा भएको एक कार्यक्रममा बताएका थिए । एएफ्पी÷एपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार