नैतिकताको राजनीतिका लागि भन्दै प्रधानमन्त्रीले दिए पदबाट राजीनामा


Share This


नेपालबहस संवाददाता    196 Views

१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो १० महिने कार्यकालको प्रगति र आफू नेतृत्वको सरकारले देश र जनताका पक्षमा गरेका कामबारे देशवासीलाई जानकारी गराएका छन् ।

आज सिंहदरबारबाट राष्ट्रका नाममा संबोधन गर्दै प्रधानमन्त्रीले नेपाली कांग्रेससँग भएको सहमति अनुसार आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे। उनले आज नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाउने बताएका छन्। आफू सफल प्रधानमन्त्रीको रुपमा विदा हुन पाएको भन्दै प्रधानमन्त्रीले अब नेता र सांसदको रुपमा मुलुक र जनताको सेवा गर्ने कुरा उल्लेख गरेका छन् । राजनीतिक नेतृत्वमा इमान्दारिताको खडेरी देखिएको र सत्ता साझेदारीका लागि भएका सहमति कार्यान्वयन नभएको सन्दर्भमा आफूले राजीनामा दिएको कुरा उल्लेख गरे ।

हिजो व्यवस्थापिका–संसदबाट विशेष सम्बोधन गर्ने योजना बनाए पनि प्रतिपक्षी दल एमालेको सहमती नभएपछि हिजो सदन सञ्चालन हुन सकेको थिएन । आज ११ बजे बस्ने भनीएको संसद पनि सुचना टाँस गरेर संसद बस्न नसक्ने जानकारी आएपछि उनले प्रधानमन्त्री कार्यालयबाट नै सम्बोधन गरेका हुन्।

यसरी गरे दाहालले ओलीको कटाक्ष
सम्बोधनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । प्रधानमन्त्रीले सरकार गठनका क्रममा विपक्षी दलले उठाएको गलत नियतको प्रश्नको आफनो सरकारले उत्तर दिएको बताउँदै ओलीको आलोचना गर्न भने छुटेनन् ।

उनले भने, ‘चीनसँगको सम्झौता के हुन्छ रु फास्ट ट्रयाक के हुन्छ रु भन्दै विपक्षीले गलत नियतले प्रश्न गरे । यसलाई नै नियोजित प्रचारको रुपमा प्रयोग गरियो ।’ ‘आफूमाथि विश्वास नहुनेलाई अरुको पनि विश्वास नहुने रहेछ ।’ प्रधानमन्त्रीले चीनसँग वान बेल्ट वान रोड परियोजनामा हस्ताक्षर भइसकेको र यसअघि राजनीतिक दाउ पेच मात्र बन्ने गरेको फास्ट ट्रयाक आफ्नो सरकारको पालामा स्वदेशी लगानीमा नै निर्माण गर्ने सुनिश्चित गरेको भन्दै उक्त प्रश्नहरुको जवाफ दिएको उल्लेख गरेका छन् ।

‘काठमाडौं र तराई जोड्ने फास्ट ट्रयाक बन्ने ग्यारेन्टी भएकोमा खुशी व्यक्तगर्दै भनेः– ‘नेपाली सेनाले निर्माण गर्ने गरी फास्ट ट्रयाक केही दिनमा शिलान्यास गर्दैछु,’ ।दुरुगामी महत्वको हुलाकी मार्ग सम्पन्न गर्नका लागि भारतको प्रधानमन्त्रीसँग प्राथमिकताका साथ कुराकानी गरेको उनले बताए । उनले यसअघि दुई छिमेकी मुलुकसँग बिग्रिएको सम्बन्ध आफ्नो कार्यकालमा सुधार गर्न सफल भएको दाबी गरे ।

यस्तो रह्यो १० महिने कार्यकाल
सम्बोधनका क्रममा उनले संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन, काठमाडौँ उपत्यकामा विद्युत् कटौतीको अन्त्य, लगानी सम्मेलनको सफल आयोजना, आर्थिक वृद्धिदर बढोत्तरीका निम्ति गरिएका सुधार कार्यक्रम, सर्वसाधारण जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा, गरिब तथा विपन्न नागरिकलाई सहयोग र भूकम्पपछिको पुनःनिर्माणका कामलाई गति दिन आफू नेतृत्वको सरकार सफल भएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार