लोप हुन लागेको इन्द्र–अप्सरा नाच भोली भक्तपुरमा देखाइने


Share This


नेपालबहस संवाददाता    306 Views

२७ साउन, काठमाडौं । मल्लकालीन राजा रणजित मल्लको पालादेखि सुरु भई लोपोन्मुख अवस्थामा पुगेको इन्द्र–अप्सरा नाच यस वर्ष एक दिन मात्रै हुने भएको छ ।

परम्परागत रुपमा गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म नचाइएको सोे नाच केही वर्षअघिदेखि भने कहिले चार दिन त कहिले एक दिन मात्रै हुँदै आएको छ ।

महाभारत कथानुसार अभिशाप परेर पाण्डवमध्येका अर्जुन देवराज इन्द्रको दरबारमा पुगेका र अप्सरा उर्वशीसंँग नाचेका थिए । सोही कथनअनुसार सो नाच चल्दै आए पनि अर्थ अभावका कारण नाच नियमित चार दिनसम्म सञ्चालनमा आउन नसकी लोपोन्मुख अवस्थामा पुगेको छ ।

यस वर्ष भने एक दिन मात्रै नाच प्रदर्शन गरिने छ । मध्यपुरथिमि नगरपालिका वडा नं ४ मरुटोलका राजेन्द्र कायस्थका घरबाट शनिबार अपराह्न नाच सुरु हुनेछ । कायस्थले अपराह्न ४ बजेपछि निस्कने इन्द्र–अप्सरा नाच बालकुमारी हुँदै गुंगचुवासम्म पु¥याई प्रदर्शन गरिने जानकारी दिएए। स्थानीयवासीले आफ्ना टोल टोलमा प्रदर्शन गर्न बोलाएमा लैजाने परम्परा रहेको छ । नाच मध्यरातिसम्म चल्ने बताइएको छ ।

सो नाचमा गोप्रदी(बूढो मान्छे)का रुपमा गुरु तथा अन्य अप्सरा तीनदेखि चार जनासम्म रहने नृत्यगुरु ज्ञानलाल कायस्थले बताए । सो नाचमा दाफा खिं, हारमोनियम, बाँसुरी, टाः र झ्याली बाजा बजाउने गरिन्छ । बाजाको तालअनुसार नाच नाचिने र इन्द्र–अप्सराको कथा वाचन हुने वाद्यगुरु कृष्णमान बाँके श्रेष्ठले जानकारी दिए ।

यस वर्षको नाचमा गोप्रादीका भूमिकामा युनिक म्होपु, राजकुमारका भूमिकामा श्रीस म्होपु तथा अप्सराका भूमिकामा आइसा, सिप्रना र एन्जिला श्रेष्ठले नाच्ने भएका छन् । विशेष गरी मरु टोलमा मानिसको मृत्यु भएका कुनै घरबाट निकालेर चार दिनसम्म चलाइने र नाच चलाउन कोही तयार नभए नाच सिकाएकै घरबाट गाईजात्राको चौथो दिनमा एक दिन मात्रै निकाल्ने परम्परा छ ।

यस वर्ष भने सात महिनाअघि आमा कृष्णमायाको मृत्यु भएकाले राजेन्द्र कायस्थले आफ्नो घरबाट यो नाच एक दिन मात्रै निकाल्ने भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार